३ जेष्ठ २०७७, शनिबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, ३ जेठ । कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तुमा २ सय ५० बेडको आइसोलेसन सेन्टर र २ सय बेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ ।

जिल्लाकाका पाँच पालिकामा पचास पचास बेडको आइसोलेनसन सेन्टर तथा कपिलवस्तु बहुमुखी क्याम्पसमा दुई सय बेडको क्वारेन्टाइन निर्माण गरिने भएको हो ।

दुई दिन अघि प्रदेश सरकारले कपिलवस्तु बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको थियो । तर स्थानीय स्तरबाट बिरोध भए पछि अहिले त्यहाँ क्वारेन्टाइन मात्र निर्माण गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठकमा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको सहभागितामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले संक्रमितको संख्या बढेसंगै तिनीहरुको उपचार तथा राख्न समस्या भए पछि प्रदेश सरकारको समन्वयमा सो निर्णय गरिएको बताउनुभयो ।

मायोदेबी गाउँपालिका–१ पकडीस्थित फैजल अहमदको निर्माणाधीन निजी अस्पताल, सोही पालिकोे वडा नम्बर ३ फुलिका स्थित सार्वजनिक घर , कपिलवस्तु नगरपालिका–३ स्थित महिला तथा बालबालिका कार्यालयको भवन, शिवराज नगरपालिको नलकुप सिंचाई भवन, बिजयनगर गाउँपालिकाको आयुर्बेद भवनमा पचास पचास बेडको आइसोलेसन सेन्टर निर्माण गरिेने छ ।

कपिलवस्तु नगरपालिका–३ स्थित महिला तथा बालबालिका कार्यालयको भवनमा अहिले नगरपालिकासंग सम्झौता गरी लिडो नामक संस्था बसेको छ । सो संस्थासंग सम्झौता ताडेर आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो ।

काठमाडौंमा रहेका संस्थाका अध्यक्ष तथा सांसद अतहर कमालले लकडाउनको समयमा बिना जानकारी एकतर्फीरुपमा सम्झौता ताडने निर्णय दुःखद भएको बताउनुभयो ।

मन्त्री केसीले भने आइसोलेनशन सेन्टर र क्वारेन्टाइन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय बिपदको बेला सबैले आ– आफनो स्थानबाट सहयोग गर्नु पर्ने उहाँको भनाइ छ ।

जिल्लाका १० पालिकामा सञ्चालन गरिएको क्वारेन्टाइनका ६ हजार ८ सय ७५ बेडमा हाल ६ हजार ७ सय ८७ जना रहेको प्रशासन कार्यालयले जनाएको छ । कपिलवस्तुमा हालसम्म ४३ जना संक्रमित भेटिएका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV