३ जेष्ठ २०७७, शनिबार
  • ज्योति कुमार पन्थी,

गुलरिया, ३ जेठ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं।११ का २८ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भए पछि बर्दियाको लालपुर गाउँ सिल गरिएको छ ।

काठमाडौमा बस्दै आएका तर लकडाउनमा घर फर्किएका २८ बर्षीय युवामा कोरोना संक्रमण देखिएसंगै गुलरिया नगरपालिका वडा नम्बर ११ को लालपुर गाउँ र उनीहरुको परिवार सम्बन्धित ब्यक्तिहरुको घर समेत सिल गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले न्यूज २४ लाई जानकारी दिनुभयो ।

उहाँले ति युवा काठमाडौमा बस्दै आएको र लकडाउनको समयमा घर आएको तर पुनः घरबाट फिर्ता गई काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको समेत बताउनु भयो ।

स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको बिज्ञप्तीमा बर्दिया ११ नर्खु भन्ने स्थान कतै नरहेको र पछि त्यस बारे बुझदा गुलरिया नगरपालिका ११ भन्ने बुझिएको समेत उहाँले बताउनु भयो ।

अहिले ति युवा काठमाडौमा रहेको तर उनी कहिले काठमाडौं फर्किएका हुन भन्ने बारेमा अनुसन्धान भइरहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।

साथै उहाँले उनीसंग सम्पर्कमा आएकाहरुको खोजी गरी सबैको पीसीआर परीक्षणको तयारी भई रहेको पनि बताउनुभयो ।

उता स्वास्थ्य मन्त्रालयले बिज्ञप्ती जारी गर्दा सम्म जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयसंग समन्वय हुने नगरेको यो घटनाले पुष्टि गरेको छ ।

मन्त्रालयले बिज्ञप्ती जारी गर्दा बर्दिया नर्खु भनिए पछि दिनभर जसो प्रशासन र स्वास्थ्य कार्यालयलाई स्थान पत्ता लगाउन धौ धौ परेको थियो । मन्त्रालयले बिज्ञप्ती जारी गर्दा समन्वय गर्न जरुरी रहेको समेत देखिएको छ ।

LIVE TV