३ जेष्ठ २०७७, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, ३ जेठ । दाङका एकजना संक्रमितको रिपोर्ट सार्वजनिक भएको झण्डै २० घण्टापछि पहिचान भएको छ ।

स्वास्थ्य मन्त्रालयले गलत ठेगाना र सूचना सार्वजनिक गरेपछि दाङमा कोरोना संक्रमित एकजना बिरामी खोज्न सकस भएको थियो ।

शुक्रबार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुलसीपुर उपमहानगरपालिका–७ मा बिरामी नभेटिएपछि विभिन्न अड्कलबाजीसमेत गरिएको थियो । शनिबार दिउँसो दाङ तुलसीपुरका कोरोना संक्रमितको वास्तविक पहिचान भएको हो ।

उनी तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर मजुवाका रहेको पुष्टि भएको छ । ३४ वर्षका उनी अर्को एकजना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुगेका थिए । बिरामी कुरूवाको रूपमा रहेको उनको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । उनको अहिले शुक्रराज ट्रमा सेन्टर टेकुको आइसोलेसन वार्ड कक्षमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिनुभयो ।

पोजिटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २९ घण्टा दाङका तुलसीपुर क्षेत्र त्रसित बनेको थियो ।

दाङका योसहित तीनजनामा कोरोना संक्रमण भेटिएको छ । गढवा गाउँपालिकाका दुईजना र तुलसीपुरको एकजना संक्रमित भएका छन् । गढवाको दुईजनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV