३ जेष्ठ २०७७, शनिबार
  • बसन्त खतिवडा

बारा, ३ जेठ । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्दाफाँटमा कार्यरत जवानमा कोरोना पोजिटिभ देखिएपछि हाल उनीसँग सम्पर्कमा आएका ३५ जनाको समेत स्वाब परीक्षण गरिएको छ ।

अदालतमा म्याद थपका लागि लगिएका व्यक्तिहरुलाई परीक्षण नगरी अदालत परिसरमा प्रवेश नदिने भनेपछि अदालत पेश गर्ने प्रहरी जवान र अर्का एक व्यक्तिको स्वाब परीक्षण गर्दा प्रहरी जवानमा पोजिटिभ देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

जिल्ला अदालतमा प्रवेश गर्दा अनिवार्य कोरोना परीक्षणको व्यवस्था गरिएको हुँदा उक्त प्रहरी जवानमा विना लक्षण कोरोना पोजिटिभ देखिएको प्रशासन श्रोतले जनाएको छ । मुद्धा फाँटमा कार्यरत प्रहरीको कोरोना परीक्षण रिपोर्ट शनिवार आएको हो । रिपोर्टमा कोरोना पोजिटिभ देखिएका प्रहरी जवान रौतहट जिल्लाको फतुवा विजयपुर–२ घर भएका २९ बर्षीय पुरुष हुन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा जिल्लामा थप एक जनामा कोरोना संक्रमण भएको पाईएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । बारामा कोरोना संक्रमण हुने उनी चौथो व्यक्ति हुन् ।

अहिले जिल्ला प्रहरी कार्यालयलाई सेनिटाइज गर्ने काम भईरहेको छ । संक्रमितको सम्पर्कमा आएका २५ प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रहेको बालमन्दिरमा बनाईएको क्वारेन्टाइनमा राख्ने तयारी भैरहेका बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

संक्रमित प्रहरी जवानलाई हाल जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको र उनको अवस्था सामान्य रहेको मिश्रले जानकारी दिनुभयो । प्रहरीमै कोरोना संक्रमण पाईएपछि जिल्ला प्रहरीमा कार्यालयका ३१ जनाको शनिबार पीसीआर परीक्षणका लागि स्वाब संकलन समेत गरिएको छ ।

LIVE TV