३ जेष्ठ २०७७, शनिबार
  • शितल भट्ट

बेलाैरी, ३ कञ्चनपुर । कञ्चनपुरको बेलाैरी नगरपालिका वडा नम्बर १ बसही खुला सिमाना भएर नेपाल प्रवेश गर्न खाेज्ने २६ जना नेपालीलाई फिर्ता पठाइएकाे छ ।

उनीहरुलाई धनगढीकाे गाैरीफन्टा नाकाबाट स्वास्थ्य चेकअफ गरेर मात्रै नेपाल प्रवेश गर्न अनुराेध गरिएको बेलाैरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष रतन बहादुर शाहीले बताए ।

उनले खुला सीमा भएर लुकिछिपी नेपाल प्रवेश गर्न राेक लगाइएकाे समेत जानकारी गराए । उनले भने, ‘भारतका विभित्र क्षेत्रमा गएका नेपालीहरु यतिखेर त्यहाँ खान-बस्न संकट परे पछि नेपाल प्रवेश गर्न खाेजिरहेका छन् ।’

शनिबार नेपाल-भारत खुला सिमाना बसही नाकाबाट नेपाल प्रवेश गर्न खाेज्ने २६ जना नेपाली मजदुर नै रहेकाे उनकाे भनाइ । जसमध्ये २४ जना लालझाडी गाउँपालिका- २ कञ्जका रहेका छन् भने १ जना बेलाैरी नगरपालिका- ७ बरैयाका र अर्का एकजना धनगढी उपमहानगरपालिकाका स्थानीय रहेको वडाध्यक्ष शाहीले बताए ।

बिहानै खुला सीमाबाट प्रवेश गर्ने दाउ खाेजेका उनीहरुलाई सशस्त्र प्रहरीले राेक लगाएको थियाे । कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीर सिंह शाहुले पछिल्लोपटक सीमा क्षेत्रमा जतिसुकै कडाइ गर्न खाेजे पनि भारतमा अलपत्र परेका नेपालीहरु नेपाल प्रवेश गर्न खाेजिरहेकाले अब सरकारले यसकाे व्यवस्थापकीय पक्षमा ध्यान दिनुकाे विकल्प नरहेको समेत बताए ।

उनले भने, ‘कैयौं नेपाली सीमा क्षेत्रमा पालमुनि बसेका छन् । तर पनि नेपाल सशस्त्र प्रहरीले नेपाल-भारत आउजाउमा कडाइ नै गरिरहेकाे छ ।’ घामपानी-दिनरात केही नभनी सीमा क्षेत्रमा नेपाल सशस्त्र प्रहरी २४ घण्टा तैनाथ रहेकाे बताए ।

नेपाल सरकारले लकडाउनका कारण प्रवासमा अलपत्र परेका लाखौं नेपालीहरुकाे अवस्था बारे गम्भीर रहेको बताए तापनि उद्दार तथा राहत सम्बन्धमा ठाेस कदम चाल्न नसकेको गुनसाे बढिरहेकाे छ ।

LIVE TV