२ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, २ जेठ । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल केमसानले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारको लागि आवश्यक पर्ने मेडिकल सामग्रीहरु निशुल्क वितरण गरेको छ ।

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले फ्रन्टलाइनमा खटिनेहरुका लागि १७ लाख ५० हजार बराबरको मेडिकल सामग्री बितरण गरेको छ । स्वास्थ्य मन्त्रालय ,महानगरीय ट्राफिक प्रहरी माहाशाखा र सञ्चार माध्यमलाई फ्रन्टलाइनमा रहेकाको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोरोना संक्रमण बढ्दै गैरहेको अवस्थामा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको भाइरस प्रतिरोधी मास्क ,पीपीइ सेट लगायत ठूलो मात्रामा मेडिकल सामग्री रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी संक्रमणको जोखिममा रहेका सुरक्षाको लागि खटिएका ट्राफिक प्रहरीको लागि महानगरीय ट्राफिक प्रहरी महाशाख प्रमुख भीमप्रसाद ढकाललाई कोरोना संक्रमणबाट बच्ने मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । मेडिकल आपूर्ति संघ नेपालले न्यूज २४ टेलिभिजनका टिभी जर्नलिष्टहरुको लागि समेत संक्रमणबाट बच्न अत्यावश्यक सामग्री उपलब्ध गराएको छ ।

सूचना सम्प्रेषण लागि खटिने पत्रकार संक्रमणको उच्च जोखिममा रहेको भन्दै पत्रकारलाई जोखिमबाट बच्ने मेडिकल सामग्री उपलब्ध गराएको रसायन तथा मेडिकल आपुर्ती संघ नेपालले जनाएको छ । साथै केमसानले इडिटर एसोसिएसन नेपाललाई पनि मास्क स्यानिटाइजर उपलब्ध गराएको छ ।

स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मी जोखिममा रहेका भन्दै संघले सुरक्षा सामग्री उपलब्ध गराएको हो । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल बि स २०६१ साल असोज २० गते देखि मेडिकल उपकरण सर्जिकल केमिकल ब्यबसाय गर्ने ब्यबसायीहरुको छाता संगठन हो ।

पछिल्लो समय चीनबाट मेडिकल सर्जिकल सामग्री आपूर्ति गरेका ब्यबसायीहरुले बजारमा माग नै उच्च भैरहेको समयमा पनि संक्रमण रोकथामको फ्रन्टलाइनमा रहेकालाई निशुल्क अत्यावश्यक सामग्री उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV