२ जेष्ठ २०७७, शुक्रबार

धनगढी, २ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले धनगढी उपमहानगरपालिकाको राहत खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ ।

गरिव तथा मजदुरी गरी खाने परिवारलाई राहत वितरण गर्न २ करोड ६१ लाखको ठेक्का मिलेमतोमा दिएको र ठाकुर ट्रेड लिंकले कीरा परेको, कुहिएको चामल वितरण गरेको भन्दै कारवाहीको व्यापक माग उठेकाे थियाे । साेही मागअनुसार अख्तियारको टोलीले धनगढी उपमहानगरपालिका आवश्यक कागजात नियन्त्रणमा लिएको हाे ।

अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख महेश पाण्डेले धनगढी उपमहानगरपालिकाका राहत खरिद सम्बन्धी सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको बताएका छन् ।

छानबिन पक्रियाको पहिलो चरणमा कागजपत्र नियन्त्रणमा लिइएको हो । वितरण गरिएको राहत गुणस्तरहीन प्रमाणित भएको थियो । राहतको चामलमा घुन, किरा र कुहिएको भेटिएपछि कारबाही स्वरुप धनगढी उपमहानगरपालिकाले सम्झौता गरी खाद्यान्न आपुर्ति गरिरहेको ठाकुर ट्रेड लिंकलाई २ लाख जरिवाना गराएको थियो ।

ठाकुर ट्रेड लिंकले गुणस्तरहीन खाद्यान्न सामग्री बितरण गरेको पाइएपछि कारबाहीको माग उठेको हो । संकटको बेला मिलेमतोमा कराेडौँको ठेक्का दिएर सर्वसधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी कुहिएको चामल वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

LIVE TV