१ जेष्ठ २०७७, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज, १ जेठ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञालाई पालना गराउनका लागि वीरगञ्जको गल्ली गल्लीमा नेपाली सेना गस्तीमा खटिएका छन् ।

वीरगञ्ज महानगरपालिकाको १ देखि १८ वडासम्मको विभिन्न टोलहरुमा नेपाली सेना तैनाथ गस्तीमा खटिएको छ ।

यही वैशाख ३० गते पर्सा जिल्लामा एकै दिन ३९ जनामा कारोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभरि लागू हुने गरी वैशाख ३० गते राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी गरिएपनि वीरगञ्जका स्थानीयहरु त्यसलाई उल्लंघन गर्न सक्ने भएकोले नेपाली सेना परिचालन गरी निषेधाज्ञा जारी गरिएको थियो ।

अहिले निषेधाज्ञाको बखत वीरगञ्जको रोधमाई, श्रीपुर, मुर्ली, रानीघाट, पानीटयांकी, बसपार्क, घडिअर्वा, अशोकवाटिका, छपकैया, वीर्ता, आदर्शगनर, नगवा, इनर्वा लगायतका टोलहरुको गल्ली गल्लीमा नेपाली सेनाले गस्ती गरि रहेको छ ।

विगत डेढ महिनादेखि वीरगञ्जमा लकडाउन कायम भएतापनि स्थानीयवासीले त्यसको उल्लंघन गरी बजारमा हिँडेको कारण नै अचानक वीरगञ्जमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएपछि निषेधाज्ञा जारी गरि नेपाली सेना परिचालन गर्नु पर्ने अवस्था आइपरेको हो ।

नेपाली सेना परिचालित सहित वीरगञ्जमा निषेधाज्ञा जारी गरिएपछि अहिले वीरगञ्ज सुनसान बनेको छ । टोल बस्तीहरुको गल्ली गल्लीमा एक दुई सर्वसाधारणको चलहपहल भएपनि मुख्य सडक भने सुनसान छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV