१ जेष्ठ २०७७, बिहीबार
  • शीतल भट्ट,

(बेलौरी) कञ्चनपुर, १ जेठ । कोरोना रोकथाम एवं नियन्त्रणका लागि नेपाल–भारत सरकारले सीमा सिलबन्दीदेखि लकडाउन गर्दै आएका छन् ।

दुई महिनादेखि दुवै देशमा लकडाउन गरिएपछि मुख्य गरेर रोजगारी एव गुजारा चलाउनका लागि भारत पसेका विपन्न वर्गका नेपालीको भारतमा यतिबेला विजोग भएको छ ।

लकडाउनका लागि भारतमा रोजगारीका क्षेत्र बन्द भएपछि त्यहाँ कार्यरत नेपाली मजदुरको बेहाल भएको छ । यतिसम्मकी उनीहरुलाई घरबेटीले भाडाकै विषयमा निकालिरहेका छन् ।

त्यहाँ रहेका नेपालीहरुले भारतमा नेपालीको दुःख कष्टमात्र विजोग मात्र नभइ हरिविजोग भएको बताएका छन् ।

भारतमा रहेका नेपाली भोकभोकै दिन काट्नदेखि पैदलघरतर्फ आइरहेका छन, तर उनीहरुलाई सरकारले नेपाल प्रवेस गर्न नदिएपछि पुनः उनीहरु भारतमा फर्काइदा भारतीय प्रहरीबाट थप प्रताडित छन् ।

भारतमा रहेका नेपालीको उचित व्यवस्थापन एवं नेपाल प्रवेश गर्न दिनुपर्ने माग अघि सारेर भारतीय काँग्रेस उत्तरप्रदेशका महासचिव भुवन कपाडीले उत्तरप्रदेशको खटीको शहीद पार्कमा धर्ना समेत गरेका थिए ।

भारतमा रहेका नेपालीले दिल्ली स्थित नेपाली दूतावासमा नेपालीमाथि परेको पीडा बारे अवगत गराएपनि कुनै सुनुवाई नै नगरेको गुनासो पोखेका छन् । भारतको रामपुरदेखि नेपालको कञ्चनपुरको दूरी झण्डै १ सय ४३ किलोमिटर छ ।

डेढ महिना अघि हरियाणा प्रदेशबाट नेपाल फर्किन लागेका थलरा गाउँपालिका बझाङ्गका ९२ जना जिप बुकिङ्ग गरेर आए ।

भारतका दुई प्रदेशबाट तेस्रो उत्तरप्रदेशमा पुग्दा त्यहाँको प्रहरीले रोकेर रामपुरको छात्राबास राखिदियो ।

‘हामी हरियाणाबाट सीमासम्म पु-याइदिने सर्तमा दोब्बर भाडा तिरेर आएका थियौँ, ‘रामपुर क्वारेन्टाइनमा रहेका थलारा गाउँपालिका १ बझाङ्गका लोकेन्द्र बोहराले भने, ‘जोखिम मोलेर आफ्नै मातृभूमि पुगौला सोचेको थियौँ, डेढ महिनादेखि हामी क्वारेन्टाइनमै बसेका छौँ ।’

उनले क्वारेन्टाइनमा विगत भन्दा अहिले दैनिक खानपान एव उचित बसोबासमा समस्या भईरहेको बताए ।

‘हामी भन्दा बढि महिला, गर्भवर्ती एव सुत्केरी महिलालाई समस्या भईरहेको छ, ‘उनले भने, ‘यति विजोग हुँदा पनि हाम्रो बारेमा सरकारले केही सोचेको छैन् ।’ क्वारेन्टाइनमै गत २१ चैत्रमा हरकला दाहालले छोरा जन्माईन् । उनको नाम कोभिड राखिएको छ ।

बैशाख अन्तिम साता २२ बर्षीया सिता नेपालीको चार महिनाको गर्भ तुहिएको छ । भने त्यही क्वारेन्टाइमा रहेका दुई महिला धनसरा दाहाल र बिन्दु बोहरा गर्भवती छन् ।

सीतालाई उच्च रक्तश्राव भएपछि उनको रामपुर स्थित सरकारी अस्पतालमा उपचार पछि पुनः क्वारेन्टाइनमा नै राखिएको छ ।

विषम परिस्थितिमा गर्भवती सुत्केरीको विशेष स्याहार गर्नुपर्छ : स्टाप नर्स बबिता विष्ट

क्वारेन्टाइनमा उचित खानपान एव व्यवस्थापन अभावका कारण गर्भवती, सुत्केरी महिलाको बेहाल भएको छ ।

स्वास्थ्यकर्मीले पनि कोरोना महामारीको विषम परिस्थितिमा गर्भवति, सुत्केरी महिलाको विशेष निगरानी गर्दै स्वाहार सुहार र सुरक्षित राख्नुपर्नेमा सुझाव दिदै आएका छन् ।

महाकाली अस्पतालमा कार्यरत स्टाप नर्स बविता विष्टले सुत्केरी एव गर्भवति महिलाको विशेष अवस्था रहेको बताउदै उनले यस्तो महामारीका बेला उनीहरु बढी जोखिममा पर्ने बताइन् । ‘महिलाको शारीरिक अवस्था पनि कमजोर बन्छ, ‘उनले भनिन, ‘यो समय आमाको विशेष स्याहारसुसार गर्नुपर्छ ।’

क्वारेन्टाइनमा समेत महिलाका लागि उचित व्यवस्थापन हुनुपर्ने बताउदै उनले आमा शिशुको स्वास्थ्यका लागि पोषिलायुक्त खाने परिवार र उचित बसोबासको प्रबन्ध गर्नुपर्ने बताइन् ।

‘चुनावका बेला मतदाता खोज्दै गाडी पठाउने, दुःखका बेला दिन कटाउने’

भारतमा रहेका नेपालीले अहिलेका मन्त्री तथा सांसदहरूले आफूहरुलाई चुनावका बेला मात्रै मतदान गर्न प्रयोग गर्ने र महासंकटका बेला बेवास्ता गर्ने गरेको प्रति गुनासो पोखेका छन् ।

अपिसाईपाल नेपाली एकता समाज भारत सुभाष नगरका अध्यक्ष बासुदेव जोशी (बादल)ले भारतका काम गर्ने नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकका रुपमा हेर्दा र आफूहरु महासंकटमा पर्दा समेत कुनै पहल नभएको दुखेसो पोखे ।

उनका अनुसार दिल्लीभर झण्डै २७ हजार नेपाली रहेका छन् । ‘हजारौँको रोजगार गुमेको छ । उनले भने, ‘कतिपयलाई घरबेटीले निकाला गरिदियो, केही सडकमै रात काट्छन् ।’

भोकभोकै अर्काको देशमा मर्नुभन्दा पैदलै घरतर्फपनि जाँदा देशप्रवेश गर्न नपाएको उनको दुखेसो छ ।‘

चुनावका बेला हाम्रा घर दैलोमा पुगेर भोट माग्दै दैलो चहार्दै आउँने दल सरकारमा गएपछि हामी प्रदेशमा संकटमा परेका बेला सरकारले हाम्रो पीडा बुझेन, ‘उनले भने, ‘चुनावका बेला सम्झिने राजनीतिक दलले अहिले हामी विदेशमा मर्दा समेत कुनै पहल गरिदिएन् ।’

स्वदेश फिर्ताको माग राख्दै दैनिक आन्दोलन

भारतमा अलपत्र परेका नेपालीको उद्दार र जिल्ला प्रवेशको माग राख्दै महाकाली नगरपालिकामा स्थानीयले दैनिक आन्दोलन गरिरहेका छन् ।

महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले भारतबाट फर्किने नेपाली दैनिक जसो लुकिछीपी नेपाल आईरहेको बताए । उनका अनुसार बिहीबार पनि दशगजा क्षेत्रमा नेपाली आएर बसेका छन् ।

‘भारतबाट दैनिक लुकिछिपी आईका आएकै छन, ‘उनले भने, ‘यहाँ दैनिक स्थानीयले आन्दोलन गरेका छन, न प्रवेश पाएका छन, न उतै भारतमा उचित व्यवस्थापन भईरहेको छ, हामी जनप्रतिनिधिलाई हैरानी मात्रै भएको छ ।’

उनीहरुले कहिले नगरपालिका, कहिले नगर प्रमुख, वडाध्यक्ष एव स्थानीय स्तरमा आन्दोलन गरिरहेका छन् ।

सीमावर्ती पुनर्वास नगरपालिका ९का वडाध्यक्ष नारायण जैसीले भारतमा रहेका एवं भारतीय क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश प्रवेशको माग अघि सारेर स्थानीयले दवाव दिइरहेको बताए ।

‘सरकारले भारतमा रहेका नेपालीको विषयमा ठोस पहल गरेको छैन ।’ उनले भने, ‘यस्तो स्थितिमा नेपालीहरु भारतबाट लुकिछिपी आइरहेका छन् ।

केही दिन अघि ४० दिन भारतीय क्वारेन्टाइन रहेका २ सय ४२ जना नेपालीलाई भारतीयले रातारात नेपाली सीमा कटाएको थियो ।

भारतमा रहेका नेपालीको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदिएको भन्दै उनीहरुले गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV