१ जेष्ठ २०७७, बिहीबार
  • राजन परियार

सिन्धुली १, जेठ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणसंगै तस्करीको त्रास बढेको पाइएको छ ।

सर्लाही, रौतहट, बारा, काभ्रे र मकवानपुर जिल्लासंग सीमाना जोडिएको उक्त गाउँपालिकामा बाहृय मानिसको आवागमनले कोरोना भाइरससँगै तस्करी समेत बढेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी नहुदाँ कोरोना भाइरसको उच्च जोखिममा रहेको तराईका जिल्ला हुदैँ आउने गरेको पाइएको कारण कोरोनाको त्रास बढेको अध्यक्ष लामाले जानकारी दिनु भयो ।

तराईका जिल्लासँग गाउँपालिकाको सिीमाक्षेत्र मरिण–लखन्ती, अर्थौली–बरुण, क्यानसिर, क्यानेश्वर–धिमाल, केरावारी– राँगेचुरी र रौतहटसंग जोडिएको बागमती झब्सीबाट राजधानी आवतजावत गर्नेको संख्या बढेको कारण सुरक्षा कर्मीको माग गरिएको लामाले बताउनु भयो ।

गाउँपालिकामा अन्य जिल्लाबाट हुने आवगमनले कोरोना संक्रमणको जोखिमसँगै सालको काठ, बहुमूलय जडीबुटी तथा वन्यजन्तुहरुको समेत तस्करी हुन थालेपछि पालिका भित्र सुरक्षामै चुनौती थपिएको लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो–‘सिमाक्षेत्रबाट हुने अबैध गतिविधिहरुलाई नियन्त्रण गर्न दिउँसोको समयमा नगर प्रहरीसहित जनप्रतिनिधिहरु आफै बसेपनि रातको समयमा अत्याधिक तस्कर भएको पाइएको छ ।

’गाउँपालिकामा एक मात्र प्रहरी चौकी भएका कारण सवैतिर गस्ती गर्न नसक्ने भएपछि लकडाउनको मौका छोपी चुरे जंगलमा काठको तस्करी समेत गर्ने गरेका छ, लामाले थपे ।

सीमाक्षेत्रमा कडाई गर्नका लागि थप प्रहरी पठाइदिन जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई आग्रह गर्दा समेत सहयोग नपाएपछि गाउँपालिकाले स्वयंसेवक परिचालन गरेर बाहिरि जिल्लाबाट हुने आवागमन र तस्करी नियन्त्रणको प्रयास गरेको छ ।

जिल्लामा दरबन्दी अनुसारको प्रहरीको संख्या नभएपछि थप सुरक्षाकर्मी पठाउन नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रमुख रन्जु सिग्देलले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलनु अगावै सरकारले हरिहरपुरगढी गाउँपालिकामा शसस्त्र प्रहरी बलको पोष्ट खडा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV