१ जेष्ठ २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर, १ जेठ । लकडाउनको समय लम्बिदै जादा हातमुख जोड्न समस्या परेको भन्दै विराटनगरका स्थानीय अपाङता भएकाहरुले आफूहरुलाई सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले लकडाउन अगाडि भारतको जोगवनीबाट सामान ओसारेर विराटनगरका बजारमा बेच्ने गरेको र लकडाउन पछि सवै बन्द भएकाले परिवार पाल्न समस्या भएको गुनासो गरेका छन् ।

उनीहरुले जम्मा गरेको पैसाले कतिदिन पनि नपुग्ने भएकाले केही व्यावसाय गर्न सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले महानगरपालिकाले एक पटक राहत बाँडेको र त्यसपछि राहत नदिएको हुनाले आफुहरु जस्ता अपाङता भएकाहरुले अन्य कुनै काम गर्न नसक्ने भएकाले सजिलो व्यवसाय गर्नको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

अपाङता भएका र दैनिक मजदुरी गरेर खाने मजदुरहरुलाई केही राहत पुगोस भनेर स्थानीय हाम्रो समाज संस्थाले ५ किलो चामल, दाल, नुन तेल, सावुन, सर्फ र माक्स समेत वितरण गरेको थियो ।

यसैगरी गरीव र मजदुर गरेर खानेहरुलाई दुईछाक टार्न धौ धौ परेको भन्दै रोटरी क्लव अफ विराटनगरले आज देखि दैनिक २ सय जनालाई एक किलो चामल, दाल, तेल आलु, मसला लगायतका दैनिक आवश्यकताका खाद्यान्न सामग्री वितरण गर्न थालेको छ ।

स्थानीय तहहरुले राहत प्रति कुनै चासो नदेखाएका बेला विभिन्न संघ सस्थाहरुले राहत वितरण गर्न थालेका छन् । नहुनेहरुलाई राहत हुनेहरुले सहयोग गरौ भन्दै रोटरी क्लवले प्रत्येक दिन राहत वितरण गर्ने बताएको छ ।

लकडाउनको कारण लागू औषध पुर्नस्थापना केन्द्रहरुमा पनि समस्या भएको गुनासो आउन थालेपछि रिकविरिङ नेपालको नेतृत्वमा प्रदेश १ मा रहेका २२ वटा पुर्नस्थापना केन्द्रह्रुलाई राहत सामग्री वितरण गरिएको छ ।

झापा, मोरङ र सुनसरीमा रहेका २२ वटा लागू औषध पुर्नस्थापना केन्द्रमा रहेका १ हजार वढीलाई सो संस्थाले राहत वितरण गरेको हो ।

लकडाउन भएको लामो समय हुँदा दैनिक ज्यालादारी गर्नेहरु , मजदुरी गर्नेहरु र अपाङगता भएका व्यक्तिहरु भोकै नमरुन भन्ने उद्येश्यले विभिन्न संघ सस्थाहरुले सहयोग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV