१ जेष्ठ २०७७, बिहीबार
  • रामगोपाल तमखु,

भक्तपुर, १ जेठ । भक्तपुरमा कोरोना भाइरस पुष्टि भएकी महिलासंगै बसेकी उनकी साथी महिला (नर्स)को रिपोर्ट नेगेटिभ आएको छ ।

सुनसरीबाट भक्तपुर आएर उनीसंगै बसेकी २५ बर्षीया महिलामा कोरोना भाइरस पुष्टि भए पछि बैशाख ३१ गते उनको पनि स्वाब परीक्षण गरिएको थियो । आज उनको रिपोट नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले जानकारी दिनुभयो ।

संक्रमित महिला वैशाख २९ गते सुनसरीबाट सवारी पास लिएर मोटरसाईकलमा भक्तपुर आइपुगेकी थिइन् । भक्तपुर आए लगतै उनी संखधर चोक नजिकै रहेको नर्स साथीको कोठामा गएर बसेकी थिइन् ।

संक्रमित महिला वैशाख ३० गते बिहान आफैं एम्बुलेन्सबाट टेकु अस्पतालमा कोरोना परीक्षणका लागि पुगेकी थिइन् । उनको स्वाब परीक्षण पश्चात हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ रहेको पुष्टि गरेको हो ।

कोरोना पुष्टि भएसँगै उनलाई टेकु अस्पतालमै आइसोलेसनमा राखिएको छ भने भक्तपुर जिल्लाको मध्यपुरस्थित उनी बसेको क्षेत्रलाई सिल गरिएको छ ।

त्यस्तै, हिजै भक्तपुर दुवाकोटका अर्का २७ बर्षीय एक पुरुषमा पनि कोरोना भाइरस संक्रमन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

हिजै उनीसँगै रहेका परिवारका ७ जनाको पनि हिजै स्वाब टेस्टको लागि टेकुस्थित राष्ट्रय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । उहाँहरुको रिपोर्ट भने आउन बाँकी रहेको एसपी प्रधानले जानकारी दिनुभयो ।

संक्रमित पुरुष शसस्त्र प्रहरी बाल निलबाराही गण चोभारमा कार्यरत रहेका उनी पूर्व गृह तथा रक्षा मन्त्री भीम रावलको पिएसओ हुन् । रामेछाप निवासी उनी एक महिना अघि नै बिदामा बसेको जनाइएको छ ।

उनी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं १ सरस्वती खेल क्षेत्रलाई समेत सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV