३१ बैशाख २०७७, बुधबार
  • अमर काफ्ले,

इनरुवा, ३१ बैशाख । सुनसरीको झुम्का घर भएकी नर्स कोरोना संक्रमित भेटिएपछि उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ थालिएको छ ।

सुनसरी प्रशासनले अत्यावश्यक सेवामा कार्यरत रहेकाले नर्सको सवालमा पास उपलब्ध गराएको जनाएको छ । प्रशासनले पासका लागि आएकी नर्समा कोरोना संक्रमण देखिएकाले उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण थालिएको जनाएको छ ।

कोरोना संक्रमित भेटिएकी महिला आफन्तको सहयोगमा मोटरसाइकलमा काठमाडौं गएकी थिइन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार झुम्कामा रहेको घरमा नर्स ४ जनाको परिवारसँगै बसेकी थिइन् ।

उनीसँगको सम्पर्कका आधारमा क्लोज कन्ट्याकमा रहेका ११ जना र अन्य ९ जना गरी २० जनाको स्वाब परीक्षण गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

घरमा बस्ने क्रममा नर्सको सम्पर्क उनकी दिदीसँग समेत भएको देखिन आएको प्रशासनले जनाएको छ । दिदी रामधुनी नगरपालिकाको वडा सचिव समेत हुन् ।

दिदीको परिवार र कामको दौरान दिदीसँग सम्पर्कमा आएकाहरुको समेत पहिचान गरी परीक्षणको व्यवस्था मिलाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले आवश्यक निगरानी र सर्तकता समेत बढाएको जनाएको छ ।

सुनसरी प्रशासनले जिल्लामा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको जनाएको छ । यद्यपी सुनसरीबाट काठमाडौं गए लगत्तै झुम्का घर भएकी नर्समा कोरोना पोजेटिभ देखिएकाले जिल्लामै रहँदा संक्रमण भएको हुन सक्ने भन्ने विषयलाई नकार्न भने नसकिने जनाएको छ ।

प्रशासनले आम नागरिकलाई लकडाउनको पालना गरी सावधानी साथ घरमै बस्न आग्रह समेत गरेको छ ।

यसैबीच संक्रमित महिलाको घरमा स्वास्थ्यकर्मी सहितको टोली स्थलगत निरीक्षणका लागि पुगेको छ ।

प्रदेश, जिल्ला र नगरपालिकाको टोलीले घर परिवार र छरछिमेकको अवस्था र संक्रमितको सम्पर्क लगायतका विषयमा जानकारी बटुली रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV