३१ बैशाख २०७७, बुधबार
  • रामगोपाल तमुख,

भक्तपुर, ३१ बैशाख । भक्तपुरको मध्यपुर नगरपालिकाका बिभिन्न ठाउँमा स्थानीयले बाटो बन्द गरेका छन् ।

हिजो मध्यपुरको शंखधर चोकस्थित साथीको कोठा बस्न आएका एक व्यक्ति कोरोना संक्रमित भेटिएपछि स्थानीयले आजबाट अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरेको हो ।

हिजो संक्रमित पुष्टि भएका भक्तपुरका कोरोना संक्रमित दुई जनामा २७ बर्षीय पुरुष शसस्त्र प्रहरीका र २५ बर्षीया महिला स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ ।

उहाँहरु दुबैलाई हिजो स्वास्थ्य मन्त्रालयबाट कोरोना पोजिटिभ भएको जानकारी दिएको थियो ।

उहाँहरु दुबै जना लकडाउनको समयमा वीपी राजमार्ग, अरनिको राजमार्ग हुदै साँगाबाट उपत्यका भित्रिएको जनाएको छ । पुरुष व्यक्ति पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलको सुरक्षार्थ खटिने गरेको शसस्त्र प्रहरी केही दिन अघि मात्रै रामेछाप स्थित घरबाट फर्किएका थिए ।

भक्तपुरका प्रमुख हुमकला पाण्डेका अनुसार रामेछाप घरभई केही दिन अघि सिन्धुपाल्चोक हुँदै भक्तपुर दुवाकोट कोठामा आएको पाईएको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोबाट आएपछि शसस्त्र प्रहरी अस्पतालमा स्वाब संकलन गरी टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र कोरोना परीक्षणमा नतिजा पोजिटिभ भएको देखिए पछि हिजै टेकु अस्पतालमा आइसोलेसनमा उपचार शुरु गरिएको जानकारी दिनु भयो ।

नेता रावलको घरमा डियुटीमा जान लाग्दा नेता रावलले कोरोना परीक्षण गरेर मात्रै आउनु भनेपछि शसस्त्र प्रहरी अस्पतालमा गएर परीक्षण गरेको बताइएको छ ।

दुवाकोटस्थित उहाँ बस्ने घरलाई सिल गरिएको छ भने घरमा सबै जना र उहाँ सँग सम्पर्कमा रहेको व्यक्तिहरुको पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु गरिसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सबिन प्रधानले जानकारी दिनु भयो ।

त्यस्तै उता २५ बर्षीया कोरोना संक्रमित महिला बसेको घरको वरिपसर पनि सिल गरिएको छ । उहाँ बैशाख २९ गते सुनसरीबाट भक्तपुरको मध्यपुर शंखधर चोक स्थित नर्स साथीको कोठामा आएर बसेको पाईएको एसपी प्रधानले जानकारी दिनुभयो ।

भक्तपुरको सल्लाघारी बस्दै आएकी उहाँ ललितपुरमा रहेको आरोग्य फाउण्डेसनको निदान अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ पनि आफु टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमित पाईएपछि हिजै टेकु अस्पतालको आइसोलोसनमा भर्र्ना भई उपचार शुरु गरेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

उहाँसगै बसेको घरका र उहाँसँग सम्पर्कमा आएको पहिचान गरी परीक्षण गर्ने कार्र्य शुरु गरेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँको नर्स साथी भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आकस्मिक कक्षमा कार्यरत रहेको खुल्न आएको छ ।

उहाँको पनि आजै भक्तपुर अस्पतालमा स्वाब संकलन गरि टेकु पठाएको छ भने उहाँलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

LIVE TV