३१ बैशाख २०७७, बुधबार

काठमाडौं, ३१ बैशाख । सेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।

कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार आज पनि बन्द हुने समयअघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि २ दशमलव शून्य एक प्रतिशतले घटेको छ । यस्तै कारोबार भएका सबै कम्पनीको शेयर मूल्य पनि घटेको छ ।

सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको ८ लाख ६२ हजार ९ सय ५० रुपैयाँको भएको छ । यस्तै लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV