३१ बैशाख २०७७, बुधबार
  • ज्योति कुमार पन्थी

गुलरिया, ३१ वैशाख । जिल्ला प्रशासन कार्यालय बर्दियाले बाँके जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि बाँकेबाट भित्रने तरकारी र फलफूलमा रोक लगाएको छ ।

प्रशासनले रोक लगाए पनि विभिन्न बहाना गरी भित्रिएका ती सामानहरु बर्दिया जिल्लामा आउने क्रम भने रोकिएको छैन । मंगलबार राति आलु र प्याजसहितको ट्रक बर्दिया भित्रिएपछि मधुवन नगरपालिकाका स्थानीयको विरोधमा ट्रकलाई पुन नेपालगञ्ज फर्काइएको छ ।

प्रशासनले रोक लगाएको फलफूल र आलुप्याज लगायत तरकारी सुरक्षा निकायकाे आँखा छलेर आउछन् या कसरी सदरमुकाम पुग्छन्, चासोको किषय बनेको छ । बाँकेबाट बर्दिया भित्रिने ट्रक सदरमुकाम गुलरियाबाट समेत अगाडि मधुवन नगरपालिका पुग्दा प्रहरीले सुइँको समेत पाएन ।

यसरी मधुवन बजार पुगेको आलु र प्याज सानोश्रीमा पत्रकार र स्थानीय मिलेर ट्रक रोकेर फिर्ता गरिएको हाे । स्थानीय बासिन्दाले प्रशासनले जारी गरेको निर्णय लागू हुन नसकेको र भारतबाट आयात भएकाे तरकारी समेत जिल्लामा निर्बाध भित्रिएको बताए । यसलेस्थानीय त्रासित भएका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले तरकारी र फलफुल बाहिरबाट ल्याउन रोक लगाएको र जिल्ला भित्रिएका फलफुल तथा तरकारी सिल गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV