३० बैशाख २०७७, मंगलवार
  • केदार शर्मा

चितवन, ३० बैशाख । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित महिलाको छैटौँ रिपोर्ट नेगेटिभ आएको छ ।

छैटौँ पटकको स्वाब परीक्षणमा राप्ती नगरपालिका ८ ब्रह्मनगरकी ६३ बर्षीया महिलाको परीक्षण रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

उनको हिजो कोरोना परीक्षणका लागि भरतपुर कोडिभ १९ परीक्षण प्रयोगशालामा पठाइएको थियो । यसअघि पाँचौँ पटकसम्म कोरोना परीक्षण गर्दा पोजेटिभ नै आएको थियो ।

यही वैशाख ३ गते ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शकास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो ।

स्वाब परीक्षणमा बेलायतबाट सँगै आएका आमा छोरामा संक्रमण पुष्टि भए पनि हङ्कङबाट आएका अर्का छोरामा संक्रमण भेटिएन । उनी अहिले होम क्वारेन्टाइनमा नै छन् ।

पीसीआर परीक्षणका क्रममा उनीसंगै २७ वर्षीय एक छोरामा कोरोना पोजेटिभ देखिएको थियो । उनीसंगै कोरोना पोजेटिभ देखिएका छोराको पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि अस्पतालले घर पठाएको छ ।

उनी उनका छोरा बैशाख १३ गते नै डिस्चार्ज भएका थिए । यद्यपि उनी भरतपुर अस्पतालको आइसोलसनमा बसेका युवकको पनि आज फेरि परीक्षण गर्दा नेगेटिभ नै आएको अस्पतालले जानकारी दिएको छ ।

उनीहरु गत चैत ३ गते बेलायतबाट हङ्कङ हुँदै चैत ५ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए ।

यस्तै चितवनमा २७ र ३० गते लिइएका ५५ वटै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कोरोना अस्पतालबाट ३०, नवलपुरबाट २०, भरतपुर अस्पतालबाट ३, सी एम एस १, र गुञ्जमान अस्पतालबाट आएको १ वटाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV