३० बैशाख २०७७, मंगलवार
  • उत्तम पौडेल,

पोखरा, ३० बैशाख । बिहान ९ः३० बजे पोखरा महानगरपालिकाका वडा नं ८ का वडाध्यक्षको मोवाइलमा सकुन्तला भन्ने उनकै वडाकी एक जना बासिन्दाको फोन आउँछ ।

भारतबाट नेपाल भित्रिएका एक जना मानिस उनको घरमा आइपुगेको खबर दिएसँगै टोलमा खैलाबैला शुरु हुन्छ ।

पोखरा महानगरपालिका वडा नं ८ मा शकुन्तला नामकी एक महिलाको घरमा भाडामा बस्ने एक परिवारमा एक जना थपिएका थिए ।

थपिने मान्छे अरु कोही नभएर सोही घरको दोस्रो तलामा भाडामा बस्ने परिवारका छोरा बर्ष २३ का अभिषेक बस्नेत हुन ।

केही महिना अगाडि कामको सिलसिलामा भारत पुगेका बस्नेत कोरोनाको महामारी र लकडाउनका कारण नेपाल फर्कने सोंच बनाए । उनी भारतमा के खाने र कहाँ जाने भन्ने सोच्दा सोच्दै आफ्नै देश फर्कने सोच गरेर नेपाल तर्फ आए ।

लकडाउनका कारण उनलाई भारतको एक ठाउँबाट अर्को ठाउँमा जान सहज नभएका कारण लुकिछिपी गोरखपुर नाका सम्म आइपुगे ।

त्यहाँ बाट नेपाल पस्न त्यति सहज नभएको थाहा पाए पछि उनले नाकाका प्रहरीलाई भारु ५०० लिएर नेपाल भित्र्याइदिन आग्रह गरे । नाकाका प्रहरीले पनि ५०० भारु लिएर उनलाई नेपाल छिराइदिएको उनी स्वयंले बताए ।

नाकाबाट हिँड्दै र केही सवारी साधनमा बढी भाडा तिरेर उनी नारायणगढ हुँदै मुग्लिङ्ग आइपुगे । मुग्लिङ्गबाट उनी पोखरा आउनुपर्ने थियो जहाँ उनका परिवारका अन्य सदस्यहरु बसोबास गर्दे आइरहेका थिए ।

उनी मुग्लिङ्गबाट तरकारी लिएर पोखरा आउने गाडीमा बढी भाडा तिरेर पोखरा आइपुगे । उनी पोखरा आइपुग्दा बिहानको करिब ९ः३० बजेको थियो । उनी आइपुग्दा उनका परिवारका अन्य सदस्य कामका लागि बाहिर गएका थिए ।

उनकी बहिनी भने कोठामै थिइन । बस्नेत भारतबाट पोखरा आएको थाहा पाए पछि घरबेटीले असुरक्षित महशुस गरेर वडाध्यक्षलाई खबर गरिन ।

करिब ११ बजेको समयमा वडाध्यक्ष रुद्रनाथ बरालले प्रहरी र बस्नेतका पहिले काम गरेका ठेकेदारलाई लिएर बस्नेतलाई क्वारेन्टाइनमा बस्न सुझाउन उनी बसेको घरमा पुगे ।

तर अभिषेक बस्नेत भने वडाध्यक्ष तथा प्रहरी आएको देख्ना साथ आफु बस्ने दोस्रो तल्लाबाट हामफालेर भाग्ने प्रयास गरे । दुइ तल्लाबाट उनी हामफाले पछि सोही वडाध्यक्ष र प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लियो ।

हाल उनीलाई महानगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । उनको पीसीआर र आरडीटी परीक्षण नगरे सम्म उनीलाई संक्रमण छ या छैन भन्न नसकिने वडाध्यक्ष बरालले बताए । परीक्षणको तयारी भइरहेको पनि बरालले बताएका छन ।

उनको खुट्टामा सामान्य चोट लागेको छ भने अन्य स्थिति सामान्य रहेको वडाध्यक्ष बरालले बताए । सोलुखुम्बु घर भएका बस्नेतका परिवार धेरै अगाडिदेखि पोखरा बस्दै आएका थिए । उनको परिवारमा बाबा आमा र एक बहिनी रहेका छन ।

यसरी नाकाबाट केही पैसा तिरेर एक स्थानबाट अर्को स्थानमा भित्रिनेहरुको संख्या बढिरहेको छ । पोखरामा त झन सुरक्षित स्थान भन्दै अन्य जिल्लाबाट पोखरा आउनेहरुको संख्यामा बृद्धि भैरहेको छ ।

पोखरामा झापाबाट आएका केही मानिसहरु लेकसाइडमा बसिरहेको र उनीहरुलाई क्वारेन्टाइन नराखि सेल्फ क्वारेन्टाइनमा बस्न जनस्वास्थ्यको टोलीले सुझाएको वडाबासीको आरोप छ ।

यसरी बाहिरबाट आउनेहरु पोखरा छिर्ने सिलसिला नरोकिने हो भने आजसम्म सुरक्षित रहेको गण्डकी प्रदेशमा पनि कोरोनाको जोखिम नबढ्ला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV