३० बैशाख २०७७, मंगलवार

बेलायत, ३० बैशाख । कोरोना भाइरसको महामारीको कारण इंग्ल्याण्डमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द भएको छ ।

इंग्ल्याण्ड सरकारले सोमबार जुन १ सम्मका लागि सम्पूर्ण खेल गतिविधि बन्द हुने जनाएको छ । सरकारले सार्वजनिक गरेको ५० पेजको दस्तावेजमा खेलकुद गतिविधि जुन १ सम्म नगर्न भनिएको छ ।

सरकारको पछिल्लो निर्णयसँगै प्रिमियर लिग जुन १ पछि सञ्चालनमा आउने सम्भावना बढेको छ । लिग सञ्चालनका लागि सोमबार क्लबहरुले छलफल गरेको छ ।

कोरोनाको कारण लिग गत मार्चबाट स्थगित गरिएको छ । इंग्ल्याण्डमा क्रिकेट भने जुलाई १ सम्मका लागि स्थगित गरिएको छ ।

उता, ला लिगाका अध्यक्ष खाबियर तेबासले स्पेनका शीर्ष लिगका बाँकी खेलहरु आउँदो जुन १२ देखि सुरु हुन सक्ने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण रहे/नरहेको थाहा पाउन गरिएका परीक्षणपछि खेलको क्रममा खेलाडी संक्रमणको जोखिममा पर्ने सम्भावना शून्य प्रायः हुने भएकाले खेल सुरु हुने अपेक्षा रहेको उनले बताएका हुन् ।

स्पेनका शीर्ष दुई लिगका पाँच खेलाडीका कोरोना भाइरसको संक्रमण देखिएको ला लिगाले आइतबार बताएको थियो । ला लिगाले गएको हप्ता खेलाडी तथा खेल पदाधिकारीको परीक्षण सुरु गरेको थियो ।

बन्द रंगशालामै भए पनि लिगका बाँकी खेल सम्पन्न गर्ने उद्देश्यसहित ला लिगाले परीक्षण थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV