२९ बैशाख २०७७, सोमबार
  • भगतराम थारु,

नेपालगञ्ज, २९ बैशाख । अत्यावश्यक खाद्यान्न पसल खोल्नका लागि बाँके प्रशासनले दिएको समयावधि नपुग्दै प्रहरीले बन्द गर्न दबाब दिदै आएकोप्रति नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघको ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त निर्देशन अनुसार नै अत्यावश्यक खाद्यान्न पसलहरु सञ्चालनमा आएपनि माथिको आदेश भन्दै प्रहरीले एक–दुई बजेनै पसल बन्द गर्न लगाएपछि संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सर्वपक्षीय बैठकको सहमति अनुसार बैशाख २५ गते जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी किराना, खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु बैशाख २६ गतेबाट विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सोही बमोजिम दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरण गर्ने किराना तथा खाद्यान्न पसलहरु सञ्चालनमा आइरहेका छन् । पसल सञ्चालकले सामाजिक दूरी पालना गराउँदै कारोबार गर्दै आइरहेको संघले जनाएको छ ।

आगामी दिनहरुमा प्रशासनको निर्देशान अनुसार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसलहरु निर्बाध सञ्चालन गर्न दिनका लागि प्रहरी प्रशासनसँग संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV