२९ बैशाख २०७७, सोमबार

काठमाडौं, २९ बैशाख । भारतले बिना सूचना र जानकारी नेपाली भू–भाग लिपुलेक हुँदै तिब्बतको मानसरोबार जोडने सडक निर्माण गरेपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर ‘कुटनीतिक नोट’ दिएको छ ।

मन्त्रालयले बोलाएपछि राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, सचिव शंकर वैरागीलगायतका पदाधिकारीलाई भेटेका छन् ।

यसै अवसरमा नेपाली भू–भागभित्र रहेको लिपुलेकमा बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेको विषयमा राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ समेत दिइएको मन्त्रालयले जनाएको छ ।

यस विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीको अन्त्यपछि मात्रै वार्ता गर्न आग्रह गरिरहेका जानकारी गराइएको छ । तर नेपालले वार्ता गर्नका लागि कोरोना महामारीको अन्त्यसम्म पर्खनु नपर्ने प्रष्ट जवाफ दिदै वार्ताका लागि अडान कायम राखेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार मात्रै नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवरजाने सडकमार्ग दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।

LIVE TV