
काठमाडौं, २९ बैशाख । काठमाडौंमा लकडाउन खुकुलो बनाउदै लाने सरकारको रणनीति अनुरुप सडकमा त्यस्को संकेत देखिन थालिएको छ ।
सरकारले बिभिन्न ४२ प्रकारका सेवाहरुलाई सञ्चालनको अनुमति दिएपछि लगभग एक महिना सुनसान देखिएका काठमाडौंका सडकहरु ‘पिक आवर’ मा सवारी साधनहरुले भरिभराउन देखिन थालेका छन् ।
आइतबार झै सोमबार पनि काठमाडौं उपत्यकाको सडकमा मनग्ये सवारी साधन गुडेको देखियो । तर धेरै जसो सवारी साधनहरु भने ट्राफिक प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
‘सडकमा लकडाउनको पूर्णपालना गरिएको छ, सरकारले तोकेका क्षेत्रका सवारी साधनहरुलाई मात्र पास लिएर गुडन दिइएको छ’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं एसएसपी भीमप्रसाद ढकालले न्यूज २४ लाई बताउनुभयो ।
उहाँले हिजो सोमबार मात्र लकडाउनको उल्लंघन गरी चलाउने १ हजार २ सय ७५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी पनि दिनुभयो ।
अहिले काठमाडौं उपत्यकाकाको ४२ स्थानमा संयुक्त चेकिङ टोली रहेको र पास बोकेका एवं अत्यावश्यक काम परेकाहरुलाई मात्र छोडिने गरिएको पनि प्रमुख ढकालले जानकारी दिनुभयो ।
‘सवारी खुकुलो भयो भन्ने सन्देश गएको भन्ने भान भएको रहेछ तर यो होइन’ एसएसपी ढकालले भन्नुभयो ‘ सरकारले तोकेका सेवाहरुलाई मात्र यो सुविधा उपलब्ध भएको छ, त्यो पनि पास लिएर मात्र ।’
अहिले हरेक दिन जस्तो पास लिएर उपत्यका बाहिरबाट २ देखि ३ सयको संख्यामा सवारी साधनहरु भित्रिरहे पनि अनाश्यकरुपमा काठमाडौं भित्रन खोज्नेहरुलाई फकाईने गरेको पनि उहाँले बताउनुभयो ।
कोभिड १९ संक्रमण जोखिमको न्यूनीकरणमा सबैको जिम्मेवारी उत्तिकै आवश्यक रहेको बताउदै एसएसपी ढकालले अनावश्यकरुपमा सडकमा भीड बढाउन खोजिनेहरु कारवाहीमा परिरहेको समेत बताउनु भयो ।
उहाँले पास लिएर पासको दुरुपयोग गरेर चलाउन खोज्ने एक हजार ३ सय ११ सवारी साधन कारवाहीमा परेको जानकारी दिदै लकडाउन सुरु भएपछि हालसम्म २५ हजार ६ सय ३३ सवारी साधन कारवाहीमा परेका पनि न्यूज २४ लाई बताउनुभयो ।