२९ बैशाख २०७७, सोमबार

काठमाडौं, २९ वैशाख । अघिल्लो संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेको कर्मचारी समायोजन अहिलेका मन्त्री हृदयस त्रिपाठीले उल्टाउन थालेका छन्। पहिलो चरणमा १५ कर्मचारीको समयोजन संशोधन भन्दै उल्टाइएको छ।

खरिदारदेखि अधिकृतसम्मको समायोजना संशोधन गरिएको सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले जानकारी दिए। पूर्वाधार विकास कार्यालय रुकुमका सब इन्जिनियर विश्राम पुन मगरलाई कर्णाली प्रदेश गरिएको समायोजन संशोधन गरिएको छ।

यातायात व्यवस्था कार्यालय सगरमाथा सिराहाबाट प्रदेश-१ मा समायोजन गरिएका अधिकृत (छैठौं) को यमनाथ बरालको समायोजन उल्टाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकृत कुमार न्यौपाने र प्रदेश योजना कार्यालय विराटनगरकी नायब सुब्बा उमा बन्जाराको समायोजन संशोधन भएको छ। उनीहरुलाई प्रदेश १ मा समायोजन गरिएको थियो।

हेटौंडा उपमहानगरपालिका मकवानपुरका नासु जय राम रुपाखेतीको बागमती प्रदेशमा गरिएको समायोजन सच्याइएको छ।

मायादेवी गाउँपालिका, कपिलवस्तुका नासुलाई सोही गाउँपालिकामा समायोजन गरिएको थियो। त्यो पनि उल्टाइएको छ। उमाकुण्ड गाउँपालिका रामेछापका खरिदार केशरबहादुर खत्रीको समायोजन संशोधन गरिएका मन्त्रालयले जनाएको छ।

उनलाई उमाकुण्ड गाउँपालिकामा नै समायोजन गरिएको थियो । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका खरिदार प्रकाशकुमार केसीको बैजनाथ गाउँपालिका बाँकेमा समायोजन गरिएको थियो। केसीको समायोजन पनि सच्याइएको छ। मेचीनगर नगरपालिका, झापाका खरिदार राजेन्द्र प्याकुरेललाई सोही नगरपालिकामा समायोजन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV