२८ बैशाख २०७७, आईतवार
  • बालबिक्रम कार्की,

रौतहट, २८ वैशाख । रौतहटको ईशनाथनगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा भारतले बाँध अग्लो बनाउने कार्यलाई तीव्रता दिएको छ ।

सो बाँध अग्लो नबनाउने नेपाली पक्षसँगको सम्झौतालाई लत्याउँदै भारतीय पक्षले लकडाउनको बाँधको उचाइ बढाइरहेको छ । हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो बनाइसकेको स्थानीयवासी बताउँछन् ।

यसरी भारतीय पक्षले लकडाउनको मौका छोपेर बाँधको उचाँइ बढाउन थालेपछि स्थानीय भने त्रसित बनेका छन् । सोहीँ बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

यो बाँधकै कारण सो नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ यस वर्षामा पूर्णरुपमा डुबान पर्ने चिन्ताले स्थानीयलाई सताउन थालेको छ । कोरोना भाइरस संक्रमणका कारण दुबै देश लकडाउनको अवस्थामा छ भने सीमा सिल गरिएको छ ।

तर भारत भने दशगजा क्षेत्रमा बनाएको बाँधको उचाइ बढाउन लागिपरेको छ । भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६/५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाइएको छ ।

भारतीय पक्षले स्थानीयको निरन्तर विरोधको वावजुद पनि बाँधको उचाई बढाउने कार्यलाई जारी राखेको स्थानीयको भनाइ छ ।

भारतले बनाइरहेको सो बाँध करिब तीन किलोमिटर भन्दा लामो, पन्ध्र फिटभन्दा अग्लो र दश मिटरभन्दा चौडाईको रहेको छ भने नेपालतर्फको वर्षाको पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन । यसले गर्दा वर्षा याममा सो क्षेत्र पूर्ण रुपमा डुबान पर्ने निश्चित देखिन्छ ।

विगतका वर्षहरुमा बाँधकै कारण डुबानमा पर्ने गरेकोमा यस वर्ष भारतले बाँधको उचाइ झन थपेपछि यसपालिको वर्षा कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको स्थानीय युवा आलोक कुमार सोनीको भनाइ छ ।

उहाँले भारत सरकारले यसरी बाँध बनाउनु गलत भएको भन्दै नेपाल सरकारले बाँध हटाउन भारत सरकारलाई आग्रह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर तुरुन्त बाँध भत्काउन र सो सम्भव नभए बाँधका विभिन्न स्थानमा पानीको निकास बनाउन लगाउनुपर्ने बताउनुभयो ।

धेरै पहिला खेतको आलीमात्र रहेको सो स्थानमा भारतले करिब दशवर्ष अगाडिदेखि बाँध बनाउन सुरु गरेको स्थानीय सुरेशप्रसाद गुप्ताको भनाइ छ । उहाँले सुरुवातमा सो बाँध होचो भएपनि भारतले वर्षेनी बढाउँदै लाने गरेको बताउँदै बाँधकै कारण वर्षेनी वर्षायाममा डुबेर बस्नुपरेको पीडा सुनाउनुभयो ।

उहाँले आफुहरुले भारतले बाँधको उचाँइ बढाइरहेको बारेमा स्थानीय प्रशासनलगायत सरोकारवाला निकायहरुलाई खबर गरेपनि कुनै चासो नदिएको आरोप लगाउँदै स्थानीय प्रशासन र नेपाल सरकारको कमजोरीको कारण भारतले हेपेर प्रत्येक वर्ष बाँधको उचाइ बढाउने गरेको गुनासो गर्नुभयो ।

अर्का स्थानीय मनोजकुमार सिंहले बाँधकै कारण ईशनाथवासीले वर्षेनी ३ महिना डुबान बस्नुपर्ने वाध्यता रहेको स्मरण गर्दै यसरी बाँधको उचाई निरन्तर बढ्दै गएपछि कहिलेसम्म डुबानमा बस्नुपर्ने हो ठेगान नहुने बताउनुभयो ।

उहाँले सो स्थानमा प्रत्येक वर्षामा घाँटीसम्म पानी जम्ने गरेको स्मरण गर्दै यसवर्ष झन बाँचिने हो कि डुबेरै मरिने हो ठेगान नभएको गुनासो गर्नुभयो ।

ईशनाथनगरपालिकाका नगरप्रमुख सन्तोष कुमार मेहत्ताले सो बाँधको कारण आफ्नो नगरपालिका वर्षेनी डुबानमा परेको बारे जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा धेरै पटक कुरा राखेपनि यसको समधानको लागि कुनै प्रयास नभएको गुनासो गर्नुभयो ।

उहाँले आफुले प्रमुख जिल्ला अधिकारीलाई पनि यस सम्बन्धमा कुरा गर्दा उहाँले आफुले यसबारेमामाथि कुरा राखिसकेको बताउने गरेको भन्दै यसको दीर्घकालीन समाधानको लागि नेपाल सरकारले भारत सरकारसँग स्पष्ट ढंगबाट कुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

‘हाम्रो क्षेत्र वर्षेनी लाल बकैयाको बाढीको चपेटमा पर्छ’ उहाँले भन्नुभयो, ‘भारतले बनाएको पानीको निकास विनाको बाँधले प्रत्येक वर्ष नगरका विभिन्न क्षेत्र डुबानमा पर्छ, यसपटक झन् उचाइ बढाएको छ यसको कारण अब वर्षामा कति धनजनको क्षति हुन्छ त्यसको कुनै लेखाजोखा हुँदैन् ।’

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे यसअघि सो बाँधमा थप कुनैपनि कार्य नगर्न भनेर नेपाल र भारतको प्रशासनबीचमा भएको सम्झौता भारतीय पक्षले नमानेर बाँधको उचाइ बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले भारतले निरन्तर बाँधको उचाइ बढाएको जानकारी आएपछि आफुले यस बारेमा भारतीय समकक्षीसँग कुरा गरेको र उहाँले यसमा थप कार्य नगर्ने प्रतिवद्धता व्यक्तगर्नुभएको बताउनुभयो ।

‘मैले यहाँको अवस्थाको बारेमा गृह मन्त्रालयमा जानकारी गराइसकें’ उहाँले भन्नुभयो, ‘हामी निरन्तर यसको फलोअपमा छौँ । भारतीय बाँधको कारण नेपाली डुब्नु हुँदैन् भन्ने हाम्रो मान्यताहो ।’

उहाँले जिल्लाकासिमा क्षेत्रमा नेपाल–भारतको संयुक्त सर्वे टोलीले कामगरिरहेको जानकारी दिदैँ सो टोलीले कुनै निष्कर्ष ननिकाल्नुजेल काम नगर्ने सम्झौता भएपनि भारतले बाँध बढाउने कार्य गरेको बताउनुभयो ।

स्थानीयवासीले भारतले बाँध बनाउने क्रममा केही स्थानमा दशगजा क्षेत्र च्यापेर बनाएको भन्दै नेपाल सरकारले यसको लागि तुरुन्त पहल कदमी चाल्नुपर्ने माग गरेका छन् ।

स्थानीयहरुको अहिले नेपाल सरकारले बाँध हटाउन तथा वर्षाको पानी निकासको लागि भारतसँग कुरा नगर्ने अनि वर्षामा आफुहरु डुबानमा पर्दा हेलिकप्टरबाट निरीक्षण गर्न आउने हो कि भन्ने आशंका रहेको छ ।

LIVE TV