२८ बैशाख २०७७, आईतवार
  • दानबहादुर बुढा,

मुगु, २८ बैशाख । लकडाउनपछि मुलुकको अन्य पर्यटकीय क्षेत्र झै कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरु पनि चहलपहलविहीन बनेका छन् ।

कर्णाली प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, हिमाल, ताल नदीलगायतका महत्वपूर्ण पर्यटकीय गतिविधिले भरीभराउ हुने क्षेत्रहरु सुनसान छन् ।

कर्णाली प्रदेशमा रहेका कालीकोटका पतला झ्ना, जुम्लाको चन्दनाथ भैरवनाथ, हिमा, तिला नदी, तातोपानी, कनका सुन्दरी मन्दिर, बिराट दरवार, नेपाली भाषाको उद्गम स्थान सिञ्जा उपत्यका, रारा ताल,छायाँनाथ, कोइजीमरका हिमाल, बचन बोल्ने गुम्वा, शे फोक्सुन्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, हिल्सा, भेरी नदी, हुम्लाको तातोपानीलगायत दर्जनौ पर्यटकीय क्षेत्रहरु लकडाउनको कारण गतिविधिविहीन बनेका छन् ।

पर्यटकीय स्थल आसपासमा रहेका होटल र अन्य पर्यटकीय व्यवसाय पनि सबै गतिविधि ठप्प हुँदा मारमा परेका छन् ।

लकडाउन अघि रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु हवाई र सतह मार्गबाट दैनिक ५० देखि ८० जनासम्म रारा आउने गरेका थिए । होटल पनि भरिभराउन हुने गरेका थिए ।

लकडाउनपछि राराताल रौनकविहीन बनेको रारा तालको किनारमा रहेको डाँफे होटल सञ्चालिक पूर्णदेबी वम बताउनु हुन्छ ।

कर्णाली प्रदेशको सबै भन्दा ठूलो आर्थिक स्रोतको रुपमा रहेको क्षेत्र नै पर्यटन कृषि, विद्युत र जडिबुटी हो । अन्य प्रदेश भन्दा कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै छन ।

बल्ल केही स्थानको प्रचार प्रचार राम्रो भएपछि त्यस्ता ठाउँमा पनि गतिविधि बढ्न थालेको थियो । कोभिड १९ ले गर्दा पर्यटकहरु आउन बन्द हुँदा मुगु लगायत कर्णालीका सबै पर्यटकीय क्षेत्र मारमा पर्दा होटल व्यवसायीहरुको लगानी घाटामा परेको मुगु उद्योग बाणिज्य संघका अध्क्षय कमलबहादुर बुढा बताउनु हुन्छ ।

डोल्पा जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक पर्यटक क्षेत्रहरुमा घुम्न बिगतका दिनहरुमा बिदेशी तथा स्वदेशी पर्यटकहरुको निकै घुइचो लाग्ने गरेको थियो । पर्यटकहरु आउँदा डोल्पामा रहेका होटल व्यवसायहरु, भारी बोकेर जीवन निर्वाह गर्ने स्थानीयवासीको आम्दानीको गतिलो स्रोत बन्ने गरेको थियो ।

कोरोना भाइरसको कारण होटल ,पर्यटकीय क्षेत्र सुनसान बनेपछि डोल्पावासीको रोजीरोटी खोसिएको डोल्पा उद्योग बाणिज्य संघका अध्क्षय लालीमान बुढाको भनाइ छ ।

कोरोना भाइरसको कारण नेपालको समग्र अर्थतन्त्रमा असर पार्दा कर्णाली अछुतो रहने कुरा भएन ।

तर कर्णालीको क्रन्दन अन्य क्षेत्रको भन्दा फरक छ, लामो समय विकासको हिसाबबाट पिछडिएको कर्णाली बल्ल ब्युँतिदै थियो । तर थाहा छैन अब यो चोट उस्ले कहिले पूरा गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV