२८ बैशाख २०७७, आईतवार
  • शीतल भट्ट

कञ्चनपुर, २८ बैशाख । कञ्चनपुरमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा जनशक्ति बढाउनुका साथै सीमा पिलरको समेत रेखदेख अनुगमन एवं भारतबाट आउनेमाथि कडाइका साथ रोक लगाएको छ ।

सशस्त्र प्रहरी प्रमुख गणपति बीरसिंह शाहु आफै कञ्चनपुरको उत्तरी भेगकाे सीमा अनुगमन एवं रेखदेखमा गएर टाेली परिचालन गरी भारतबाट अवैध रूपमा आउनेहरूमाथि निगरानी बढाएकाे बताउँछन् ।

भीमदत्त नगरपालिका १० गड्डाचौकीदेखि ९ ब्रम्हदेब खल्लामछेट्टीसम्मको सीमा पिलर र क्षेत्रको अनुगमन गरिएको छ । शनिबार अनुगमन गरिएको हो । ‘सीमा पिलर अनगमन र सीमा क्षेत्रमा आवतजावतमा रोक लगाईएको छ,’ सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘उत्तरी सीमा क्षेत्रबाट कुनै पनि न भारत जान पाउँछन्, न त नेपाल छिरेका छन् ।’

सशस्त्र प्रहरी उपरीक्षक शाहुले सो क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा सूक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिएका छन् । उनले चुस्त-दुरुस्त भएर प्राकृतिक सम्पदा एवं व्यक्तिको आवतजावतमा पूर्ण रोक लगाउन निर्देशन दिएका हुन् ।

पछिल्ला दिनहरुमा नागरिकबाटै सामाजिक दुरीको बेवास्ता गर्दै राजमार्ग, चियापसल, चोक-चौतारामा भीडभाड जुटाएर लकडाउन उलङ्घन हुन थालेपछि सशस्त्र प्रहरीले साइकल गस्ती गर्ने नीति समेत अघि सारेको छ ।

LIVE TV