२८ बैशाख २०७७, आईतवार

काठमाडौं, २८ वैशाख । संघीय संसदमा आगामी आर्थिक वर्षकाे बजेटका सिद्धान्त तथा प्राथमिकतामाथिको ‘प्रि-बजेट’ छलफल आजबाट सुरु हुँदै छ ।

आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेकाे छ । त्यसपछि छलफल सुरू हुनेछ । छलफल तीन दिनसम्म चल्ने जनाइएकाे छ ।

जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि समय कम रहेको छ । यसअघि बजेटमाथिकाे छलफल हुनुअगावै सरकारकाे नीति तथा कार्यक्रम ल्याउने चलन थियाे । तर यसपटक लकडाउनका कारण नीति तथा कार्यक्रम जेठ २ मा ल्याउने तयारी छ । नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण साे अघि नै प्रि-बजेट छलफल गर्न लागिएको हो ।

बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ । यस वर्ष संसदकाे बजेट अधिवेशन शुक्रबारबाट शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV