२८ बैशाख २०७७, आईतवार
  • बाल बिक्रम कार्की

रौतहट, २८ वैशाख । सुरक्षाकर्मीको ध्यान लकडाउनलाई प्रभावकारी बनाउनतर्फ केन्द्रित भएको मौका छोेपेर सिकारीहरुले आफ्नो ध्यान जंगली जनावरतर्फ केन्द्रित गर्न थालेका छन् ।

लकडाउनको अवधिमा जिल्लामा रहेका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा दैनिकजसो जंगली जनावरहरुको चोरी सिकारी बढेको छ । सरकारले कोरोना भाइरस फैलिन नदिन गरेको लकडाउन पछि जिल्लाको वनमा जंगली जनावरको चोरी सिकार बढेको स्थानीयको गुनासो छ ।

लकडाउनको मौका छापेर वनमा सिकारीहरुले बँदेल, हरिण, नीलगाई, खरायो लगायतका वन्यजन्तुको सिकार गर्ने गरेको स्थानीयको भनाइ छ । जिल्लाका चोचा, चन्द्रपुर, गैंडाटार, रंगपुर, बलेरी क्षेत्रमा रहेका जंगलहरुमा वन्यजन्तुको चोरी सिकारी हुने गरेको स्थानीय बताउँछन् ।

सुरक्षाकर्मीको ध्यान लकडाउनमा केन्द्रित भएकाले यस्ता चोरी सिकारी रोक्न स्थानीयहरु पनि आफै लागि परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा अवस्थित तिलेश्वरनाथ सामुदायिक वनका उपभोक्ता आफै यस्ता खाले चोरी सिकारी रोक्न लागि परेका छन् ।

उपभाेक्ता जागरूक

सो सामुदायिक वनका उपभोक्ताहरु विभिन्न समुह बनाएर जंगलमा गस्ती गर्ने गरेका छन् । उनीहरुले वन सुरक्षाकर्मीले मात्र जंगली जनावर जोगाउन अपर्याप्त हुने भन्दै आफै चोरी सिकारी नियन्त्रणमा लागि परेका छन् ।

आफूहरुले दुःख गरेर संरक्षण गरेको वनका वन्यजन्तु चोरीसिकारी हुने गरेपछि आफुहरु यसलाई नियन्त्रण गर्न लागिपरेको सो सामुदायिक वनका अध्यक्ष राजु धामी बताउनुहुन्छ । उहाँले उपभोक्ता र हेरालुहरुको ४–५ वटा समुह बनाएर दैनिक जंगलमा गस्ती गर्ने गरेको बताउँदै चोरी सिकारी विरुद्धको अभियानमा सबै वनका सदस्यहरु हातेमालो गरेर अगाडि बढेको जानकारी दिनुभयो ।

‘वन्यजन्तुलाई चोरी सिकारीबाट जोगाउनु हामी सबैको दायित्व हो’ उहाँले भन्नुभयो, ‘हामी सम्पूर्ण उपभोक्ता यसका लागि दत्तचित्त भएर लागि परेका छौँ । वन्यजन्तु हाम्रा सम्पति हो , हामी सबैले यसको संरक्षण गर्नुपर्छ ।’ उहाँले सबैको साझा प्रयासबाट सो जगलका जंगली जनवारहरुलाई सिकारीबाट बचाउँन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

पानी खाने माैकामा सिकार

विशेष गरी गर्मी महिनामा जंगली जनावरहरु पानी खान नदी किनारमा आउने गर्छन् । सिकारीहरुले नदि छेउमा बसेर त्यस्ता जनावरहरुको सिकार गर्ने गरेको पाइन्छन् । सिकारीहरू हतियारसहित जंगली जनावार आउने गौंडा कुरेर बस्ने र त्यहाँबाट निस्कने जनावरहरुलाई सिकार गर्ने गरेको पाइएको सो सामुदायिक वनका कोषाध्यक्ष भुुवनेश्वर गुरोको भनाइ छ ।

उहाँले बन्दुक हुनेले बन्दुकले र नहुनेले जाल थापेर जंगली जनावरको सिकार गर्ने गरेको बताउँदै यसलाई रोक्न गौँडा तथा नदि छेउमा नियमित गस्ती गर्ने गरेको जानकारी दिनुभयो ।

यस्ता चोरी सिकारीका लागि अवैध घरेलु हतियारको व्यापक प्रयोग भइरहेको उहाँको भनाइ छ । उहाँले नचिनेको मान्छेहरु जंगलतिर छिरेको देख्ने जोकोहीले पनि वनका कार्यसमितिलाई खबर गर्ने गरेको र खबर पाउनेबित्तिकै जंगलमा रहेका गस्ती टोलीलाई जानकारी दिने अनि थप मद्दतका लागि आफुहरु पनि जाने गरेको बताउनुभयो ।

स्वतः स्फुर्त गस्ती

सो वनमा हरिण, मृग, बँदेल, नीलगाई, जंगली कुखुरा लगायतका जंगली जनावरहरु सिकारीको सिकार हुने डरले आफुहरुले स्वतः स्फुर्त रुपमा गस्ती गरिरहेको स्थानीय उपभोक्ता देबेन्द्र अधिकारी बताउनुहुन्छ ।

वन्यजन्तुको संरक्षण सुरक्षाकर्मीहरुको प्रयासले मात्र सम्भव नहुने भएकाले आफुहरु यसका लागि निरन्तर लागिपरेको उहाँको भनाइ छ । सो जंगलमा बाघ, हात्ती, गैँडा, चितुवा लगायतका ठुला जंगली जनावरहरु आउने गरेको स्थानीयहरु बताउँछन् । मौका पाए सिकारीहरुले यी जनावारहरुलाई पनि आफ्नो निशाना बनाउन सक्ने स्थानियको चिन्ता छ ।

जिल्लामा दैनिकजसो हुने गरेको चोरी सिकारी रोक्न जिल्ला वन कार्यालयले खासै ठुलो भूमिका खेल्न नसकेको स्थानियहरुको गुनासो रहेको छ । जिल्ला वन कार्यालयले वन्यजन्तुको चोरी सिकारी रोक्न स्थानियहरुसँग सहकार्य गरेर अगाडि बढ्ने कार्ययोजना ल्याउनुपर्ने उनीहरूकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV