
छिन्नमस्ता(सप्तरी), २८ वैशाख । लकडाउनको मौका छोपेर प्रहरीकै संलग्नतामा यति खेर सप्तरीका सीमा नाकाहरुमा मदिरा तस्करहरु खुलेआम सक्रियता वढाउन थालेका छन् । कोरोना भाईरस(कोभिड–१९)को जोखिम न्यूनिकरणका निम्ती पछिल्लो डेढ महिना लामो समयदेखि मुलुक लकडाउनको अवस्थामा छन् ।
आवत जावत, कामकाज सवै ठप्प छन् । दैनिक जिवनयापन कठिन बन्न पुगेको अवस्था छ । छिमेकी भारतसँग जोडिएका सीमानाकाहरु पनि ठप्प रहेको अवस्था छ । सीमा नाकाहरुमा दुवै तर्फ निकै संख्यामा नेपाली तथा भारतीयहरु आ–आफ्नो मुलुक आफ्नो घर फर्किन लकडाउन खुल्ने प्रतिक्षामा छन् । यद्यपी तस्करहरुका लागि सीमा वारपार गर्न भने कुनै असहजता देखिएको छैन ।
सप्तरीको छिन्नमस्ता, तिलाठी, रम्पुरा मल्हनिया, भारदह, हनुमाननगर, गोबरगाढा, रामनगर कोदरकट्टी, बोदेवर्साईन, बलान विहिलु लगायतका सीमा क्षेत्रहरुमा प्रहरीकै सक्रियतामा खुलेआम तस्करी भईरहेको अवस्था छ ।
लकडाउन पालना गराउने नाममा सर्वसाधरणसँग निकै कडाईका साथ प्रस्तुत हुने सुरक्षाकर्मीहरु तस्करहरुका लागि आफै लाईन क्लियर गर्ने लगायतका काम गर्दै आएको सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ । यस्तो कार्यमा नेपाल प्रहरीसँगै सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीको संलग्नता रहेको छ । पारी भारत तर्फ तस्करहरुले भारतीय एसएसबीहरुलाई मिलाएका हुन्छन् । याे खबर नागरिक दैनिकमा छ।