२८ बैशाख २०७७, आईतवार

काठमाडौं, २८ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन ।

आइतबार बिहानसम्म अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या ८० हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म त्यहाँ ८० हजार ३७ जनाकाे मृत्यु भइसकेकाे छ ।

शनिबार मात्रै त्यहाँ काेराेना भाइरसका कारण १ हजार ४२२ जनाकाे मृत्यु भएकाे छ भने २५ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् । याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेकाे छ ।

अमेरिकामा संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । अमेरिकामा मृत्यु संख्या स्वाट्टै घट्ने र ह्वात्तै बढ्ने भइरहेकाे छ । शनिबार पनि त्यहाँ मृत्यु हुनेकाे संख्या निकै कमी आएकाे देखिन्छ । गत साेमबार र आइतबार पनि मृत्यु हुनेकाे संख्या घटेर निकै तल आएकाे थियाे । तर मंगलबारदेखि शुक्रबारसम्म फेरी ह्वात्तै बढेकाे थियाे ।

अमेरिकामा आइतबार काेराेनाका कारण १ हजार १५३ को मृत्यु भएकाे थियाे भने साेमबार १ हजार ३२४ जनाकाे मृत्यु भएकाे थियाे । तर फेरि मंगलबार, बुधबार, बिहीबार र शुक्रबार दैनिक मृत्युसंख्या दाेब्बरले बढेकाे थियाे ।

कुल संक्रमितमध्ये २ लाख ३८ हजार ७८ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी १० लाख २९ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजार ८१६ जनाकाे अवस्था गम्भीर रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएकाे छ । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ४३ हजार ४०९ जना संक्रमित भएका छन् भने २६ हजार ७ सय ७१ जनाकाे मृत्यु भइसकेकाे छ ।आइतबार मात्र त्यहाँ २ हजार ७ सय ४ जना नयाँ संक्रमित भेटिएका छन् भने १८६ जनाकाे मृत्यु भएकाे छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ११८ पुगेको छ । त्यहाँ आइतबार मात्र १३२ को मृत्यु भएकाे छ भने १३ सय बढी नयाँ संक्रमित थपिएका छन् । याे सँगै न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ३८ हजार नाघेकाे छ ।

सबैभन्दा बढी प्रभावित राज्यको पछिल्लो अवस्था-

प्रतिक्रिया दिनुहोस्
LIVE TV