२७ बैशाख २०७७, शनिबार
  • बालविक्रम कार्की,

रौतहट, २७ बैशाख । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । यही मौका छोपेर भारतले अन्तर्राष्ट्रिय मान्यता विपरित दशगजा क्षेत्रमा बाँध विस्तार गरेको छ ।

रौतहटको इशनाथ नगरपाकिलासँग जोडिएको नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा अग्लो बाँध बनाएको छ । यो बाँध अन्तर्राष्ट्रिय मूल्य मान्यता र प्रचलन विपरित हो ।

अर्कोतिर यही बाँधका कारण वर्षामा नेपाली भूभाग डुबानमा पर्ने निश्चित छ । माटो थुपारेर अग्लो बनाइएको यो दृश्य सामान्य होइन । भारतले दशगजा क्षेत्रमा बनाएको बाँध हो । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको यो क्षेत्रमा दश वर्षअघि भारतले बाँध बनाएको थियो ।

यसको कडा विरोधमा नेपाल सरकार उत्रिएन, अहिले संकटको मौका छोपेर नेपाली भूभाग डुबानमा पार्ने गरी भारतले बाँध अग्लो बनाएको छ ।

जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६–५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाइएको छ । स्थानीयले विरोध गरेपनि सरकार नबोल्दा उनीहरु अभिभावक विहिन जस्तै बनेका छन् ।

दशगजा क्षेत्र अर्थात ‘नो म्यान्स ल्याण्ड’ हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार यो क्षेत्रको ३० फिट वरपर पक्की वा अस्थायी कुनै किसिमको संरचना बनाउन पाइदैन ।

भारतले बनाएको अवैध बाँधले अन्तर्राष्ट्रिय ऐनको मजाक मात्र उडाएको छैन, नेपाल–भारतबीचका सहमतिहरुको पनि उलंघन गरेको छ । अझ नेपाली भूभाग डुबानमा पर्दै आएको छ ।

दुई किलोमिटरभन्दा लामो, १५ फिटभन्दा अग्लो र १० मिटरभन्दा चौडाईको बाँध बनिरहेको छ । पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन । सरकारलाई जानकारी दिइएपनि कुनै कदम नचालेको स्थानीय बताउँछन् ।

वर्षा लाग्यो, इशनाथका स्थानीय त्रसित बनेका छन् । वर्षात हुन्छ र भारतले बनाएको बाँधले आफ्नो क्षेत्र डुबानमा पार्ने चिन्ता उनीहरुमा छ ।

भारतको मिचाहा प्रवित्ति कहिले अन्त्य होला ? सरकार ! के नेपालीहरु सधैं डुबानको पीडामा पर्नुपर्ने हो ? रौतहट इशनाथका स्थानीय प्रश्न गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV