२७ बैशाख २०७७, शनिबार

अमेरिका , २७ बैशाख । पुरुष खेलाडी समान तलब हुनुपर्ने भन्दै अमेरिकाको राष्ट्रिय महिला फुटबल टोलीले दर्ता गराएको मुद्दा खारेज गरेकोविरुद्ध पुनः फैसला गर्न अपील गरेको छ ।

महिना दिन अघि बराबर पारिश्रमिकका बिषयमा अमेरिकी महिला फुटबलरले हालेको मुद्दा क्यालिफोर्नियाको जिल्ला अदालतले खारेज गरिदिएको थियो । त्यसलगत्तै टिमले जस्तोसुकै परिस्थितिमा पनि समान भुक्त्तानीका लागि लड्ने बताएका थिए । सोही अनुसार उनीहरुले मुद्दा खारेजविरुद्ध अपील दायर गरेका छन् । खेलाडीहरुले मुद्दा खारेजविरुद्ध अपील गरेको जनाउँदै जसरी भएपनि समान तलब पाउनुपर्ने माग राख्दै आएका छन् ।

यसअघि २८ महिला फुटबल खेलाडीले गत वर्ष पुरुष खेलाडी बराबर तलब पाउनुपर्ने मागसहित मुद्दा दर्ता गरेका थिए । खेलाडीले युएस सकर फेडेरेसनलाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गरेका थिए ।

अदालतले मुद्दा खारेज गरेसँगै अमेरिकामा पछिल्लो समय यसलाई राजनीतिक मुद्दा बनाईएको छ । सरकार र विपक्षी पार्टीहरुले महिला खेलाडीलाई समान तलब दिनु पर्ने माग राख्न थालेका छन् । गत वर्षको विश्वकपको उपाधि अमेरिकाको महिला टोलीले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV