२७ बैशाख २०७७, शनिबार
  • राजु पौडेल,

झापा, २७ वैशाख । कोरोना नियन्त्रणका लागि सीमामा खटिएका सुरक्षाकर्मीको अवस्था बिजोग छ ।

खुला सीमाका कारण एकातर्फ आवातजावत रोक्नु मुख्य जिम्मेवारी छ भने अर्कोतर्फ ड्युटीमा खटिदा समस्या नै समस्या । सीमामा कोरोना विरुद्ध फ्रन्ट लाइनमा बसेर काम गरिरहेका सुरक्षाकर्मीको अवस्था भने निकै जोखिमपूर्ण रहेको छ ।

खुला सीमाबाट आवतजावत गर्ने मानिसलाई रोक्न खटिएका प्रहरी चैत अन्तिम साताबाट पालमुनि छन् । झापामा दक्षिणपश्चिममा गौरीगन्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङसम्म एक सय ४४ दशमलव दुई किलोमिटर खुला सीमा छ ।

झापाको खुला सीमामा एक सय ३२ सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी पोष्ट छ । ती मध्ये ३२ ठाउँमा नेपाल प्रहरी, ३९ ठाउँमा सशस्त्र र ५७ ठाउँमा संयुक्त पोस्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्रिपाल र टेन्टको भरमा सुरक्षा

सीमामा खटिएका सुरक्षाकर्मी त्रिपाल र टेन्ट टाँगेर बसेका छन् । यी अस्थायी पोस्टमा करिब १५ सय सुरक्षाकर्मी खटाइएको छ । सीमामा आवतजावत रोक्न खटिएका सुरक्षाकर्मी हावाहुरी र बर्षामा रुझ्दै ड्युटी गर्न बाध्य छन् ।

दिउँसोको चर्को गर्मी, रातको भीषण हावाहुरी तथा पानीको पर्वाह नै नगरी सुरक्षाकर्मी देशको सीमामा खटिएका छन् । ‘अहिले पानी र हावाहुरीले समस्या गराएको छ ।

कतिपय अस्थायी टहरमा पानी पसेर बस्न पनि समस्या भएको छ,’ जिल्ला प्रहरी कार्यालय झापाबाट सीमामा खटिएका प्रहरी निरीक्षक बह्मदेव शाहले भन्नुभयो, ‘समस्या भएपनि हामीले हाम्रो जिम्मेवारी पूरा गर्न तर्फ लागेका छौँ ।’

लठ्ठीको भरमा अहोरात्र सेवा

दशगजा पारी रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) स्थायी संरचना र हतियारसहित सीमानामा हुँदा नेपाल तर्फका सुरक्षाकर्मी भने खुला आकाश मै भए पनि लठ्ठीको भरमा अहोरात्र सीमामा खटिएका छन ।

अनेकौँ डर र चुनौतीका बाबजुत पनि उनीहरु रातदिन खटिएका छन् । पूर्वको नेपाल–भारतको सीमाना मेचीनदीको बगरमा नै बसेर सुरक्षाकर्मी ड्युटी गरिरहेका छन् ।

तर, यस्तो प्रतिकूल अवस्थामा सीमा सुरक्षाको जिम्मेवारी पाउँदा उत्साह थपिएको बताउनु हुन्छ शसस्त्र प्रहरी बल नम्बर १ गण इलामबाट सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाई ।

‘हामीले इलामको दक्षिणपूर्वी भारतीय सीमा क्षेत्र मेची नदीमा बसेर ड्युटी गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘दिनभर खोलामा ड्युटी गरेर माथि सलकपुर क्षेत्रतिर बस्छौँ, समस्या भएपनि जनताको सेवामा खटिएका छौँ ।’

पछिल्ला केहीदिन यता सीमामा खटिएका सुरक्षाकर्मीमाथि भारतीयको आक्रमण समेत हुन थालेको छ । यसरी थोरै जनशक्तिका बाबजुद पनि सुरक्षाकर्मीले सीमामा कोरोना रोकथामका लागि काम गरिरहेका छन् ।

यस्तो विषम परिस्थितिमा सुरक्षाकर्मीप्रति सम्बन्धित निकायहरु गम्भीर हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV