२७ बैशाख २०७७, शनिबार
  • भगतराम थारु,

नेपालगञ्ज, २७ बैशाख । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैया बखतपुरका ३० वर्षीय चक्रबहादुर थारु सम्पर्क विहीन भएका ३० दिन भइसकेको छ ।

रोजगारीका लागि काभ्रे आएका थारु कोरोना महामारीका कारण लकडाउन घोषणा भएपछि हिँडेरै बर्दिया फर्कदै गरेका उनी बीच बाटोबाटै सम्पर्क विहीन भएका हुन् ।

थारु आफूसँगै काम गर्ने साथीहरुसँग घर फर्किएका थिए । पैदल आउने क्रममा उनीहरुलाई बीच बाटोबाट प्रहरीले ट्रकमा बसालेर घरतर्फ पठाएको थियो ।

यसैबीत्र बाँकेको अगैया पुगेपछि उनीहरु शौच गर्नका लागि झरेका थिए । सोही क्रममा चक्रबहादुर थारु बेपत्ता हुन पुगेका थिए ।

उनकी श्रीमति रेखाले भनिन्, ‘राम्ररी बस्नु, छोराको राम्रो ख्याल गर्नु भन्ने मान्छे अहिलेसम्म सम्पर्क विहीन हुँदा हाम्रो घरपरिवार चिन्तित बनेको छ । आज ठीक ३० दिन भयो ।’

अहिलेसम्म छोराको पत्ता नलाग्दा दिनरात अध्यारो देख्ने गरेको आमा ठगनी बताउछिन् । उनले भनिन्, ‘जसले जे उपाय भन्छ सोही उपाय अपनाउँछौ । बाँकेको हरेक प्रहरी चौकीमा सम्पर्क र फोटो छोडेका छौं ।’

कालो सर्ट लगाएका थारुलाई जो–कोहीले फेला पारेमा नजिकैको प्रहरी चौकी वा ठाकुरबाबा नगरपालिकामा खबर गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता चक्रले ९८२३५३८४८९ र ९८००५८६१२७ नम्बरको दुई वटा सिम प्रयोग गर्दै आएका छन् ।

यस विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीसँग बुझ्न खोज्दा फोन उठाएनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV