२७ बैशाख २०७७, शनिबार

काठमाडौं, २७ बैशाख । शुक्रबार सिंहदरबार अगाडि देखिएका दृश्यले अहिले आम नेपालीलाई सोच्न बाध्य बनाएको छ । त्यो दृश्यले उठाएको प्रश्न अब मुलुकको स्वाधीनता र स्वाभिमानसंग जोडिन थालिएको छ ।

के भौगोलिक हिसाबले ठूला भनिएका देशका जनताहरुले साना देशमा जे पनि गरे हुन्छ ? धेरै प्रश्नहरु उठेका छन् तर केन्द्रमा रहेको यो प्रश्नले अहिले आम नेपालीलाई एक ठाउँ उभिने अवसर नै पनि दिएको छ ।

अहिले विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । विश्व बन्द छ र ठप्प छ । न आकाशमा विमान छन् नत धर्तीमा सवारी साधन नै गुडेका छन् । धेरै देशका वासिन्दा आफ्नो भूगोल भन्दा पर फरक भूगोलमा थुनिएका छन् । यो कसैको रहर नभएर बाध्यता हो अहिले विश्व समुदायका लागि ।

नेपालमा भएका धेरै देशका नागरिकहरु लकडाउनकै बिच फर्किसके । चिनियाँ नागरिकहरु पनि नफर्केका होइनन, एक साता अघि मात्र ठूलो संख्यामा चिनियाँ नागरिक नेपाली जहाज प्रयोग गरेर देश फर्किए ।

तर शुक्रबार एक जत्था चिनियाँ नागरिकहरुले सिंहदरबार अगाडि देश फर्कन पाउनु पर्ने कथित मागका साथ सिंहदरबार घेरे । लकडाउनको पालना गरेर नेपाली नागरिक घरघरमा बस्न विवश छन् ।

तर चिनियाँ नागरिकहरुको ठूलै जत्थाले सडकमा उत्रिएर नारा लाउने अवसर पनि पाए र नेपाल प्रहरीका कर्तत्यनिष्ठ कर्मचारीमाथि हातपात गरे, बर्दी समेत समाते ।

आम नेपाली नागरिक नेपाल प्रहरी मात्र नभइ सबै सुरक्षाकर्मीप्रति अपार सम्मान गर्छन । व्यक्ति होइन बर्दीप्रतिको सम्मान उच्च छ नेपाली जनतामा । किनभने त्यो बर्दीमा सरकारको सिन्दूर परेको छ ।

तर चिनियाँ नागरिकहरुले नेपाली प्रहरीका अधिकारी र जवानहरुमाथि हात मात्र हालेनन, बर्दी समातेर नेपालको स्वाभिमानमाथि नै धावा बोल्ने हर्कत देखाए ।

के साना देशको कानून र त्यो देशको स्वाभिमानको सम्मान गर्नु पर्दैन चिनियाँ नागरिकले ? आफै कठोर शासन र अनुशासन भित्र हुर्किएका चिनियाँ नागरिकहरुको अनुशासन यही हो ? यो प्रश्नले अहिले आम नेपालीलाई बिझाएको छ ।

दुबै छिमेकी देशप्रति र ती देशका नागरिकप्रति उच्च सम्मान गर्ने नेपाली नागरिक उनीहरुबाट त्यही अनुरुपको अपेक्षा सदैव गर्दै आइरहेको अवस्थामा यो हर्कत वास्तवमा स्वीकार्य किमार्थ छैन पनि उनीहरुलाई ।

यता घटनापछि नेपालस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ती जारी गरेर नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानूनको सम्मान गर्न आग्रह गरिसकेको छ । तर उक्त घटनामा दूतावासले कुनै अफसोच भने जनाएको छैन नत आफ्ना नागरिकहरुले गरेको गल्ती नै स्वीकार गरेको छ ।

यो घटना पछि ठूलो संख्यामा नेपाली नागरिकहरुले सामाजिक सञ्जालमा तीब्र असन्तोष पैदा गरेका छन् । तर सरकारी निकायबाट आधिकारिक कुनै प्रतिक्रिया भने अझै आएको छैन ।

के यो प्रतिक्रिया जनाउन नपाउने विषय हो र ? लिपुलेकमा नेपाली माटो र स्वाभिमान मिचिएको दिन मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार अगाडि उत्तरको छिमेकी चीनका नागरिकहरुले देखाएको हर्कतले नेपाल एकैपटक दोहोरो पीडामा पिसिन पुग्यो ।

भारतसंगको सीमामा निर्घात नेपाली नागरिक पिटिइन्छन, मारिन्छन । सीमा पारिबाट आएर यही लकडाउनको अवधिमा भारतीय नागरिकहरुले नेपाली सुरक्षाकर्मीमाथि धावा बोल्ने आँट गर्छन ।

के मुलुक सानो भएको आधारमा नै हेपिएको हो कि यस्मा सरकारी र राजनीतिक दलको विगत र अहिलेको रबैया कारक हो ? यो प्रश्नहरु सामाजिक सञ्जालमा नेपाली नागरिकहरुले उठाउन थालेका छन् । ढिलोछिटो सरकारले बोल्ला नै धेरैले यो अपेक्षा पनि गरेका छन् ।

यता नेपाली प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले भने शुक्रबार नेपाल प्रहरीका अधिकारी र जवानहरुमाथि हातपात गर्नेहरु मध्ये चार जनामाथि अभद्र व्यवहार ऐन अन्तर्गत कारवाही हुने न्यूज २४ लाई बताउनु भयो । उहाँले अभद्र व्यवहार गर्नेहरुमाथि मुद्दा दर्ता गरेर भोलिदेखि नै कारवाही प्रक्रिया अगाडि बढाइने पनि प्रष्ट पार्नुभयो ।

हो नेपाल प्रहरीले चालेको यो कदमले आक्रोश उम्लिएका नेपाली नागरिकहरुलाई केही मत्थर पार्ला तर भूगोल र क्षेत्रफलको हिसाबले कुनै पनि मुलुकको स्वाभिमानको मापन हुँदैन भन्ने सत्य प्रमाणित गर्न सरकारले धेरै गर्न आवश्यक देखिसकिएको छ अब ।

किनभने नेपाली नागरिकहरु सीमामा कुटिदै आएको अवस्थामा अब सिंहदरबार अगाडि सुरक्षाकर्मी नै विदेशीहरुबाट असुरक्षित रहन थालिसके ।

नेपाल र नेपालीले स्वाभिमान र स्वाधीनताप्रतिको सम्मानको परीक्षा ४ सय बर्ष अगाडि दिइसकेका छन् विश्व समुदायलाई । विश्व समुदायले हेर्ने त्यो नजर शायद परिवर्तन आएको छैन भन्ने आम नेपालीमा विश्वास अझै छ पनि ।

तर अब भने सानो र गरीब मुलुक भएको भन्दै पाइला पाइलामा हेपिनु पर्ने अवस्था आइसकेको दुई छिमेकी देश र तिनका नागरिकहरुले गर्दै आएको व्यवहारले छर्लङ्ग पारेको छ ।

हिजो भएका दुई घटनामा सरकार र राजनीतिक दलका ठूला भनिएका नेताहरुले दक्षिणको छिमकीप्रति आफ्नो चर्को असन्तुष्टि पोखेपनि उत्तरका नागरिकको हर्कतप्रति भने उद्दार झै देखिएका छन् ।

कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालमा नेपाली नागरिकहरुबाट सामाजिक सञ्जालमा तीब्र आक्रोश पैदा भएपछि मात्र आफ्नो धारणा राख्ने सरकारी रबैया पनि अब भने सच्चिन आवश्यक छ नै । देश पहिला तिनलाई दुख्नु पर्छ जस्ले देशको जिम्मेवारी लिएका छन् ।

LIVE TV