२७ बैशाख २०७७, शनिबार

काठमाडौं, २७ बैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको उद्घाटन गरेकोप्रति राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा विरोध गर्दै भत्र्सना गरेको छ ।

भारतीय साम्राज्यवादी नीतिप्रति राष्ट्रिय जनमोर्चा पार्टीले लगाताररूपमा विरोध गर्दै आएको उल्लेख गर्दै सो पार्टीले भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले भने कुनै विरोध प्रकट नगरेकोमा खेद व्यक्त गरेको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमोर्चाले नेपाल सरकारको नीति भारतपरस्त रहेको आरोप लगाउँदै तत्काल कडा शब्दमा विरोध गर्न र आफ्नो स्थिति प्रष्ट पार्न सरकारसंग आग्रह गरेको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यो सम्झौताको नेपालमा व्यापक रूपले विरोध गर्दै आन्दोलन हुँदै आएको छ ।

हाम्रो पार्टीले त्यो इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएकोले त्यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्दछ भन्ने मत राख्नुको साथै संयुक्त आन्दोलन सञ्चालन गर्दै आएको छ ।

त्यो सम्झौताबारे नेकपा (नेकपा)को कार्यदलले पनि यथावत रूपमा त्यसलाई स्वीकार गर्न नसकिने भनी प्रतिवेदन दिएको थियो । यसको अर्थ त्यो स्वीकार गर्न नसकिने सम्झौता हो भन्ने कुरा स्पष्ट छ ।

यद्यपि नेकपाको कार्यदलले संशोधन गरेर त्यसलाई स्वीकार गर्न सकिने भन्ने मत प्रकट गरेको छ, त्यसलाई हाम्रो पार्टीले गलत मान्दछ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV