२७ बैशाख २०७७, शनिबार
  • बसन्त खतिवडा,

बारा, २७ बैशाख । बारामा कोरोना संक्रमण देखिएका दुई जनाको सम्पर्कमा आएका ७३ जनाको पहिचान गरिएको छ ।

गत बैशाख १७ गते संक्रमण पुष्टि भएका जीतपुरका ४३ वर्षीय पुरुष र ईनर्वासिरास्थित मदर्साका ३१ वर्षीय मौलाना ‘शिक्षक’को प्रत्यक्ष सम्पर्कमा आएका ७३ जनाको पहिचान भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

दुबैजनाको कन्ट्याक ट्रेसिङका क्रममा फेला परेका ७३ जनामध्ये संक्रमितको नजिकका सात जनाको पीसीआर परीक्षण गरिसकिएको छ भने अन्यको परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

संक्रमण पुष्टि भएकै दिन मौलानाका सहयोगी र जीतपुरका पुरुषको परिवारका सदस्यहरुको स्वाब परीक्षणका लागि पठाएकोमा बैशाख २० गते नेगेटिभ अर्थात केरोना संक्रमण नभएको रिपोर्ट आएको थियो ।

परीक्षण भएकाहरुमा कोरोना संक्रमण नदेखिए पनि ६ जनालाई सिमरास्थित कोरोना विशेष ‘अस्थायी’ अस्पतालको आईसोलेसन र एक जनालाई वीरगञ्जस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको छ ।

‘सम्पर्कमा आएका अन्य ६६ जनालाई भने होम क्वारेन्टाइनमा बस्न भनेका छौँ ।’ प्रहरी नायब उपरिक्षक पुरीले बताउनुभयो ।

दुई पटक बैंक पुगेका थिए संक्रमित

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार जीतपुरका ४३ वर्षीय संक्रमित दुई पटक बैँक पुगेको खुलेको छ ।

भारतको दिल्लीस्थित मुस्लिमहरुको धार्मिक सभाबाट गत फागुन २९ गते नेपाल फर्किएका उनी त्यस पश्चात दुई पटक एनआईसी एसिया बैँकको जीतपुरस्थित शाखामा पुगेको पाईएको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले जानकारी दिनुभयो ।

‘संक्रमितको ट्राभल हिस्ट्री खोतल्ने क्रममा उनी दुई पटक बैँक गएको पाईएको छ । बैँकको सीसीटीभी फुटेजका आधारमा सोही दिन उनीसँगै बैँकिङ कारोवारका लागि पुगेका सबैलाई हामीले परीक्षणको दायरामा ल्याएका छौँ, जसमा बैँकका कर्मचारी पनि सामेल छन् ।’ गैरेको भनाइ छ ।

त्यसका साथै उनको छिमेकमा रहेका र पटक पटक सम्पर्कमा आएकाहरुलाई पनि संक्रमणको आशंकामा स्वाब संकलन गरी पठाईएको जानकारी पनि उहाँले दिनुभयो ।

अर्का संक्रमित सिम्रौनगढ घर भई जीतपुरसिमरा १९ स्थित मदर्सामा बस्दै आएका मौलाना पनि भारतबाट फागुन २९ मै फर्केको भएपनि त्यसपश्चात धेरै यात्रा गरेको भने नदेखिएको बारा प्रशासनले जनाएको छ ।

भारतबाटै संक्रमित भएर फर्किएको निष्कर्ष

भारतमा कोरोना संक्रमण फैलाउन मुख्य भुमिका रहेको भनिएको दिल्लीको धार्मिक सभामा सहभागी भएर फर्किएको ४९ दिनमा संक्रमण पुष्टि भएका दुबैजना भारतबाटै संक्रमित भएर फर्किएको निष्कर्षमा बारा प्रशासन पुगेको छ ।

नेपाल आएको ४९ दिनमा संक्रमण पुष्टि भएको भएपनि उनिहरुसँग दैनिक सम्पर्कमा रहने ब्यक्तिहरुमा समेत कोरोना नभएको पाईएकाले घर आएपछि संक्रमण भएको हुनसक्ने कुनै आधार नरहेको ईलाका प्रशासन प्रमुख गैरेले बताउनुभयो ।

उनीहरुबाट संक्रमण फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले स्वाब पठाइएकाहरुको रिपोर्ट नआउँदासम्मका लागि संक्रमित बस्दै आएको क्षेत्रलाई सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV