२६ बैशाख २०७७, शुक्रबार

काठमाडौं, २६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले आज महानगरीय प्रहरी परिसर काठमाडौंलाई समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको जाहेरी दर्खास्त पठाएपछि अनुसन्धान सुरु भएको हो ।

यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको थियो । सरकारी वकिलले जाहेरी पठाएपछि ‘सांसद अपहरण’ प्रकरणमा अनुसन्धान थालिएको छ ।

यसअघि अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि वैशाख १६ मा सरकारी वकिलको कार्यालय पुगेका थिए ।

तर, वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका थिए ।

त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको थियो । लकडाउनको समयमा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV