२६ बैशाख २०७७, शुक्रबार
  • बालबिक्रम कार्की,

रौतहट, २६ वैशाख । गत वैशाख ५ गते राति आएको हावाहुरी र असिना पानीका कारण आफुहरुले लगाएको बालीनाली नष्ट भएपछि रौतहटका किसानहरु राज्यबाट उचित क्षतिपूर्तिको आशमा बसिरहेका छन् ।

सो दिन आएको असिनापानी र हावाहुरीले जिल्लाको उत्तरी भेगमा लगाइएका बालीनालीहरुमा निकै नै क्षति पु-याएको थियो । जिल्लाको चन्द्रपुर, गुजरा, वृन्दावनलगायतका नगरपालिकाका विभिन्न वार्डहरुमा किसानहरुले लगाएका मकै, गहुँ, आँप, तरकारी लगायतका खेतीबालीहरुमा ठूलो नोक्सानी भएको छ ।

आफूहरुले लाखौँ लगानी गरेर लगाएका बाली पूर्णरुपमा नोक्सान हुँदा पनि तीनै तहका सरकारले अहिलेसम्म किसानहरुलाई कुनै पनि किसिमको राहत वा क्षतिपूर्ति नदिएको किसानहरुको गुनासो छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ चेतनगरका किसान खड्गप्रसाद पौडेलले आफुले १ विगाहा क्षेत्रफलमा लगाएको सबै मकै नष्ट भएको गुनासो गर्नुभयो ।

उहाँले असिना पानीले भर्खर दाना लाग्न थालेको मकैमा असिना पानीले केहीपनि बाँकी नराखेको भन्दै अब के गर्ने, के नगर्ने भनेर तनावमा रहेको दुखेसो व्यक्त गर्नुभयो ।

‘सबै गरेर एक कठ्ठा बराबर २५ सय हाराहारी खर्च हुन्छ’ उहाँले भन्नुभयो, ‘तर मैले एक दानापनि भित्र्याउन नसक्ने गरी मकै नष्ट भएको छ । यहीँ मकै बेचेर वर्षदिन घर चलाउने सपना थियो तर उल्टै ऋण थपिने भयो ।’

चन्द्रपुर नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार नगरपालिकाका विभिन्न वार्डका करिब ४ हजार विगाहामा लगाएका मकैमा करिब ८५ प्रतिशत पूर्णरुपमा क्षति भएको छ ।

अर्का किसान वसन्त पौडेलले आफुले यति ठूलो हावाहुरी र असिना अहिलेसम्म नदेखेको अनुभव सुनाउँदै मकै बेचेर त्यो पैसाले आफ्ना नातिनातिनीलाई काँठमाडौँ राखेर पढाउने सपना तुहिएको दुखेसो सुनाउनुभयो । उहाँका अनुसार सो दिन करिब एक किलोसम्मको असिना परेको थियो र हावाको वेग पनि अत्याधिक रहेको थियो ।

‘हावाहुरी र असिनापानीले सबै मकै खेतमै नष्ट गरिदियो’ उहाँले भन्नुभयो,‘हाम्रो यति धेरै नोक्सान हुँदापनि राज्यले आजसम्म कुनै क्षतिपूर्ति दिएको छैन् । यस्मा हामी निकै दुःखी छौँ ।’

उहाँले राज्यले किसानहरुको नोक्सानीको क्षतिपूर्ति नदिने हो भने किसानहरु भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्ने भन्दै किसानको हितमा राज्यले यथासक्य चाँडो निर्णय गर्नुपर्नेमा जोडदिनुभयो ।

कोरोना भाइरसको कहर अनि लकडाउनको मार खेपिरहेका किसानहरुलाई प्रकृृतिले पनि प्रहार गरेको किसान राम अयोध्या चौधरीको गुनासो छ । उहाँले कोरोना र लकडाउनको मार जेनतेन सहिरहेका किसानहरुलाई प्रकृतिले पनि नराम्रोसँग प्रहार गरेकाले अब के गर्ने भन्ने बारे अन्यौल भएको बताउनुभयो ।

उहाँले किसानहरुको क्षतिलाई उचित मूल्याङ्कन गर्दै तीन तहका सरकारले तत्काल राहत तथा क्षतिपूर्तिको घोषणा गर्नुपर्नेमा अहिलेसम्म वेवास्ता गरेको भन्दै किसानहरुको मार्का बुझेँर यथासक्य चाँडो निर्णय गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले आफुहरु किसानहरुको क्षतिको तथ्याङ्क संकलनमा लागिपरेको भन्दै तथ्याङ्क संकलन गरेर संघीय सरकारलाई क्षतिपूर्तिका लागि पत्रचार गर्ने जानकारी दिनुभयो ।

उहाँले किसानहरुको मार्का आफुले नजिकबाट बुझेको भन्दै किसानहरुको नोक्सानीको भरपाइ गर्न र यो समस्याको दीर्घकालीन समाधानको लागि आफूनिरन्तर लागिरहेको दावी गर्नुभयो ।

मकै खेती यस नगरपालिकाका किसानहरुको प्रमुख नगदे बाली हो । तर हावाहुरी र असिना पानीले खेतमै मकै सबै नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । आफूहरुको लगानी त परै जावोस् उल्टै ऋण लाग्नेभएपछि घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले किसानहरुलाई सताइरहेको छ ।

उनीहरुले राज्यले किसानहरुको क्षतिको क्षतिपूर्ति दिलाएर किसानहरुको समस्या समाधानमा पहल गर्नुपर्नेमा २० दिन कटिसक्दा पनि कुनै वास्ता नगरेको प्रति गुनासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV