२६ बैशाख २०७७, शुक्रबार
  • रविनचन्द्र कोइराला

तीस वर्षको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४६ सालमा देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र आएको नौ वर्ष पश्चात प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा नेपालको इतिहासमै पहिलो पटक महिला उपप्रधान मन्त्री पायो । हट्टी र निर्डर स्वभावकी नेतृ– शैलाजा आचार्य । उहाँ नेपाल प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला हुनुहुन्थ्यो ।

प्रजातान्त्रिक आन्दोलनमा झण्डै पाँच दशक निरन्तर सक्रिय रहेर पनि आफूलाई राजनीतिज्ञ नठान्ने, साहसी, निष्कपट, सिद्घान्तनिष्ठ, उच्च नैतिकता र आर्दशको प्रतिमूर्ति र स्वाभिमानी व्यक्तिको रुपमा परिचित शैलाजा आचार्यले वीपी कोइरालाको सान्निध्यमा राजनीतिक यात्रा शुरु गरी जीवन भर वहाँको विचार र नेपाली कांग्रेसप्रति निष्ठाकासाथ महिला नेतृको भुमिकामा सेवा गर्नुभयो ।

आचार्य नेपाली कांग्रेसकी पहिलो उपसभापति पनि हुनुभयो । आजीवन अविवाहित रहेर राजनीतिमा होमिएकी शैलजा आचार्य उपप्रधानमन्त्री, उपसभापति, कृषि तथा जलस्रोत मन्त्री, उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष जस्ता पदमा समेत रहनुभयो ।

प्रधानमन्त्री हुने इच्छा अधुरै

उहाँ निरन्तर पार्टीसँग आबद्ध, शीर्षस्थ नेतासँगै हुनुहुन्थ्यो । तर प्रधानमन्त्री भएर मुलुक हाँक्ने र पार्टी सभापति भएर नेतृत्व गर्ने उहाँको इच्छा भने अधुरो नै रहयो । आफैबाट प्रशिक्षित व्यक्तिहरुनै प्रधानमन्त्री र संसदीय दलको नेता बन्ने जालझेलको गणितिय खेलमा पराजित उहाँका आवाजहरु यीनै कारणले पनि पछिललो चरणमा भासिँदै गए ।

नेतृ शैलजा आचार्यको जन्म २००१, वैशाख २६ (१९४४ मे ८) मा मोरङको विराटनगरमा पिता डा. पिनाकी र आमा इन्दिराको कोखबाट भएको थियो । कृष्णप्रसाद कोइरालाकी पहिलो श्रीमती मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद कोइराला जन्मनुभएको थियो भने छोरी इन्दिरा कोइराला (आचार्य) को कोखबाट शैलजा आचार्यको जन्म भएको थियो । कान्छी श्रीमती दिव्या कोइरालाबाट वी.पी., केशव, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो ।

नातामा शैलजा नेपाली कांग्रेसका नेताद्वय वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाकी भान्जी हुनुहुन्थ्याे । उहाँलाई बाल्यकालदेखि नै नजानिँदो किसिमबाट राजनीतिले आकर्षित गरेको थियो । उहाँकी आमाले काँग्रेसको झण्डा बोकेको र नारा लगाएको देखेर उहाँपनि ख्यालख्यालमै झण्डा समात्न पुग्नुभएको थियो । बाल्यकालमा त्यसरी समातेको झण्डा प्रति उहाँ सदैव समर्पित रहनुभयो ।

जब वीपी थुनिनुभयाे

२०१७ साल पौष १ गते वीपी कोइरालालाई तरुण दलको कार्यक्रमको बीचैमा सेनाका केही व्यक्तिहरु आई लिएर गए । नेपालको पहिलो जननिर्वाचित सरकारलाई राजा महेन्द्रले अपदस्त गरेपछि वीपी कोइराला लगायत धेरै प्रजातन्त्रवादी तथा वामपन्थी नेताहरुलाई जेलमा थुनेका थिए । ०७ सालमा प्राप्त गरेको प्रजातन्त्र फेरि पनि खोसिएको थियो र कतिपय नेताहरु भूमिगत हुँदै स्वनिर्वासनमा गई राजाको अप्रजातान्त्रिक र अराष्ट्रवादी कदमको विरोध गर्दै आन्दोलन गर्ने तयारीमा थिए ।

लेखक

वीपी कोइरालाको सरकार बर्खास्त हुँदा शैलजाकाे उमेर १६ वर्ष मात्र भएकाले होला, राजनीतिक चेतना कमै थियो त्यस बेला उहाँमा । वीपी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री निवासमा नै बस्नुभएकी शैलाजाले त्यस बखत मात्र निरङ्कुशता के हो भन्ने प्रत्यक्ष प्रत्याभूति गर्नुभएकाे थियाे ।

२०१७ सालको घटनाको बारेका उहाँले एउटा अन्तरवार्तामा भन्नुभएको छ- “त्यसबेला डर थियो भने केवल राणहरुबाट केही अनहोनी हुन्छ भन्ने कि मात्र थियो । वीपीलाई मार्ने षड्यन्त्र राणहरुबाट हुन्छ कि भन्ने थियो । तर पौष १ गते राति राजा महेन्द्रको भाषण आएपछि मात्र बुझियो- प्रजातन्त्रको त हत्या पो भएछ । तीन दिनसम्म हामी बस्ने गरेको प्रधानमन्त्री निवास बन्द गरिदियो, हामीले कपडा समेत लिन पाएनौं ।”

महेन्द्रविरूद्ध पर्चा र कालो झण्डा

राजा महेन्द्रको “कु” पश्चात शैलजा आचार्यले त्यसको विरोधमा काठमाडौंमा र बाहिर पर्चा लेख्ने र छपाइ गरेर काठ्माडौंमा बाँड्ने काममा लाग्नुभयो । त्यसबेला तत्कालीन राजा महेन्द्रकाे सरकारले काठ्माडौं बाहिर जान नदिएपछि उपत्यकाबाहिर भने पर्चा बाँड्न सम्भव भएन ।

०१७ सालको प्रजातन्त्र दिवसको दिन शैलाजा आचार्यको जीवनमा नयाँ र आश्चर्यजनक घट्ना घट्यो । प्रजातन्त्रको हत्यापछि राजा महेन्द्रको उपस्थितिमा प्रजातन्त्र दिवस मनाउने ढोङ गरेका बेला कालो झण्डा देखाएर अप्रजातान्त्रिक कदमको विरोध गर्ने प्रथम क्रान्तिकारी महिला बन्न पुग्नुभयो ।

जतिबेला राजा महेन्द्रको स्वागतमा हेलिकप्टरबाट पुष्पवृष्टि हुँदै थियो, त्यही बेला शैलजा लगायत अन्य महिलाहरुले “हामीलाई प्रजातन्त्र चाहियो, पार्टी प्रतिबन्ध फुकुवा गर, हाम्रा नेता छोडिदे, संसद भङ्ग नगर, तानाशाह मुर्दावाद, वीपीलाई जेलमुक्त गर, प्रजातन्त्र जिन्दावाद, वीपी जिन्दावाद” जस्ता नाराहरु लगाएर कालो झण्डा देखाउनु सामान्य कुरा थिएन । उक्त घट्नाका कारण राजनीतिक कैदीको रुपमा उहाँले तीन वर्ष जेलमा बिताउनु पर्यो । त्यो घट्नाले उहाँलाई राजनीतिमा सदाका लागि तान्यो ।

उहाँले पछि भन्नुभएकाे थियाे- “त्यो दिन सम्झँदा मलाई अहिले पनि रमाइलो लाग्छ । त्यस घट्नाले मेरो जीवनको दिशा निर्धारण गरिदियो । मेरो एकेडेमिक करियर थियो, डान्स पनि सिक्दै थिएँ , राजनीतिमा आउँला भन्ने मेरो मनमा थिएन । त्यो घटनाले मेरो जीवनमा एक निर्णायक मोड ल्याइदियो ।”

वीपीसँगै स्वनिर्वासनमा

सशस्त्र आन्दोलन होस् वा शान्तिपूर्ण सङ्घर्ष, निडर स्वभावकी शैलजाको उपस्थिति सदैव अग्रपंक्तिमा हुन्थ्यो । ०१७ सालमा जेल चलान भएका वीपी लगायत केही नेताहरु ०२५ सालमा रिहा भए । त्यसपछि उहाँहरु सँगै शैलजा पनि स्वनिर्वासनमा गएर तानाशाह विरुद्घको आन्दोलनको तयारीमा समावेश हुनुभयो । त्यस बेला सशस्त्र आन्दोलनका लागि भारतका विभिन्न जोखिमपूर्ण स्थानहरुमा गई हतियार खरीद र ओसारप्रसार गर्ने समेत गर्नुभयो ।

त्यस कालखण्डमा उहाँमा निर्भिकता र साहस कुनै पुरुषमा भन्दा कम थिएन । भारत प्रवासनमा रहँदा पञ्चायतविरोधी संघर्ष अघि बढाउन उहाँले तरुणहरुको नेतृत्व गरेर ‘डेमोक्रेटिक सोसियलिस्ट युथ लिग’को स्थापना गरी त्यसको अध्यक्ष र तरुण पत्रिकाको सम्पादक पनि रहनुभयो ।

०३३ सालमा वी.पी. को राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै नेपाल फर्कने नेताहरुमा शैलजा पनि पर्नुहुन्छ । काठमाडौं आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि उहाँले पहिलो समूहमै नेपाल आउन रुचि देखाउनुभयो । निरंकुश पञ्चायती व्यवस्थामा विरुद्ध सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेर नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो ।

साइनाइड खाएर प्राण त्याग्ने साेच

नेपाल फर्कने क्रममा भएको एउटा रोचक घटनाले पनि शैलाजा अचार्यको निडर स्वभाव र समाजवाद, प्रजातन्त्र र राष्ट्रियता प्रति उहाँको प्रतिबद्घताको उदाहरण दिन्छ ।

पञ्चायती सरकारले चर्को यातना दियो र सहन नसक्ने अवस्था भयो भने साइनाइड खाएर प्राण त्याग गर्ने सोचले वीपीले साइनाइड बोकेको थाहा पाएकी शैलाजाले वीपी सँग आफ्नो लागि पनि साइनाइड माग्नुभएको थियो । राष्ट्र र प्रजातन्त्रका लागि आफ्नो प्राणको आहुति दिनसम्म पनि पछि नहट्ने नेतृ शैलाजाले प्रजातन्त्रपश्चात निवार्चनमा पनि जहिल्यै सफलता नै हात पार्नुभयो ।

भ्रष्टाचारविरूद्ध अडान

०४८ र ०५१ सालको आमनिर्वाचनमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । आफ्नै पार्टीभित्र समेत नीतिकाे सवालमा र बेथितिविरुद्ध खरो उत्रने आचार्यले भ्रष्टाचारको मुद्दा उठाउनुभयाे । ‘सिंहदरबारदेखि बालुवाटारसम्म भ्रष्टाचारले गाँजेको छ’ भन्दै उहाँले राजीनामा दिएको नेपाली राजनीतिमानै एक उदाहरणीय घटना हो । त्यो भनाइ फिर्ता लिन भनियो, तर उहाँले अडान छोड्नुभएन । बरू राजीनामा दिन तयार हुनुभयाे र सरकारबाट बाहिर आउनुभयाे ।

राजीनामा पश्चात उहाँले भ्रष्टाचारविरुद्ध मेची-महाकाली जनजागृति यात्रा पनि गर्नुभयो । उक्त पदयात्रामा काँग्रेसका अन्य नेता भिमबहादुर तामाङ, चक्रप्रसाद बास्तोला, नरहरी आचार्य लगायतले पनि साथ दिएका थिए ।

गणतन्त्रप्रति वितृष्णा

शैलाजा आचार्यलाई कतिपयले समयअनुसार चल्न नसक्ने नेतृको रुपमा पनि आलोचना गरे । लामो समयसम्म काँग्रेसले अँगालेकाे राष्ट्रिय मेलमिलापकाे आफ्नो आस्था रातारात त्यागेर गणतन्त्रमा जाने विषयप्रति भने शैलजाको विमति थियो । र, पार्टीभित्र बहसको लागि माग गर्नुभएकाे थियाे ।

उग्र बाम्पन्थीहरुसँग मिलेर प्रजातन्त्र ल्याउने कुरा गर्नु नै नहुने र कदमकदाचित् प्रजातन्त्र गणतन्त्र पनि काँग्रेसको हातमा नरहने उहाँकाे विश्लेषण थियो । यस विरोधका कारण पनि अन्तिम चरणमा राजनीतिमा उहाँ कमजोर हुनुभयो । आजको राजनीतिक अवस्था हेर्ने हो भने पनि उहाँको दुरदर्शीतालाई सम्मान गर्नु पर्दछ ।

जीवनको अन्तिम अवस्थामा पनि रोगका कारण निकै नै संघर्ष भोग्नु परेको नेतृ शैलजाको अन्ततः काठमाडाैँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भयाे । अन्तिमकालमा उहाँमा अल्जाइमरका साथै निमोनिया थियाे ।

एक साहसिक नारी व्यक्तित्व

लोकतन्त्रका आदर्श, मूल्य र मान्यताप्रति समर्पित साहसिक नारी व्यक्तित्वका रुपमा इतिहासमा नेतृ शैलजाको सम्मानजनक स्थान छ । प्रतिकुल परिस्थितिमा पनि धैर्य र साहसका साथ आाफूलाई उभ्याउने शैलजा आम नेपाली महिलाका लागि प्रेरणाकी स्रोत हुनुहुन्छ ।

महिला हकअधिकारका लागि मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा उहाँको ठुलो योगदान छ । नेपाली राजनीतिमा स्वच्छ छवि र इमान्दारिताको कसीमा उत्तीर्ण हुनसक्ने धेरै कम राजनीतिज्ञहरुमा विशिष्ट श्रेणीमा उहाँको नाम आउँछ ।

कठिन र संकटपूर्ण अवस्थाको नेपाली राजनीतिमा निरन्तर प्रजातान्त्रिक आन्दोलनमा समर्पित भएर लागिपरेको अर्को कुनै उदाहरणीय पात्र पाइँदैन । राष्ट्रवादी चेत, दर्शन र विचारलाई पार्टीले महत्व नदिएका फलस्वरुप एक आर्दशवादी, इमान्दार, संघर्षशील र साहसी योद्घाको सेवा बाट मुलुक सदाका लागि वञ्चित हुन पुग्यो ।

हुनत शैलजा आचार्यलाई पद कहिल्यै महत्वपूर्ण कुरा थिएन, तर नेपालका सबै पार्टीको इतिहास हेर्ने हो र उहाँको लोकतन्त्रप्रतिको योगदानलाई विश्लेषण गर्ने हो भने पनि यस मुलुकको प्रथम महिला प्रधानमन्त्री र नेपाली काँग्रेसको प्रथम महिला सभापति हुनुपर्ने थियो भन्ने मलाइ लाग्छ ।

आज नेपाली कांग्रेस पार्टीभित्र नेतृत्वको महत्वाकांक्षा र गुटगत राजनीतिमा रमाउने नेताहरुको परिपाटी, बेथिति र राजनीतिक विसंगतिलाई चिरेर उहाँले देखाएको साहस, त्याग र निष्ठाको मार्गमा अगाडि बढ्नसके मात्र शैलजा आचार्यप्रति सच्चा अर्थमा श्रद्धाञ्जली हुनेछ ।

भ्रष्टाचार विरोधी, लोकतन्त्रप्रेमी एक साहसी नारी व्यक्तित्व नेतृ स्व शैलजा आचार्यको ७५ औं जन्मजयन्तीकाे अवसरमा उहाँप्रति हार्दिक नमन !

प्रतिक्रिया दिनुहोस्
LIVE TV