२५ बैशाख २०७७, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज, २५ वैशाख । वैशाख २४ गते एकै दिन वीरगञ्जका एकै परिवारका १७ जना सदस्यमा कोरोना पोजिटिभ देखिएपछि वीरगञ्जमा लकडाउनमा कडाइ गरिएको छ ।

संक्रमण फैलिन नदिनका लागि प्रशासन तथा स्थानीय निकायको समन्वयमा बिहीबार विहानैदेखि वीरगञ्जमा लकडाउनमा कडाइ गरिएको हो ।

विहानैदेखि नेपाल प्रहरी मात्र नभइ सडकमा सशस्त्र प्रहरी समेतले कडाइका साथ निगरानी गरिरहेका छन् भने संक्रमित क्षेत्रको ३ वटा वडालाई सिल गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३ निवासी ६६ वर्षीय जैनुद्दिन अन्सारीका छोरासहित परिवारका १७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सवारी साधन आवतजावतमा पूर्ण रोक

वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा सवारी साधन आवत जावतमा पूर्ण रुपमा रोक लगाइएको छ । बिहीबार बिहान ५ बजेदेखि नै वीरगञ्जको मुख्य सडक तथा संक्रमित भेटिएका वडा र त्यस आसपासका क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।

संक्रमित भेटिएका वडा नं.३ सँगै त्यस क्षेत्रको आसपासमा पर्ने वडा नं. १ र २ लाई पनि पूर्ण रुपमा सिल गरिएको छ भने वीरगञ्ज शहर प्रवेश गर्ने मुख्य सडक पावरहाउस चोकदेखि वीरगञ्ज भन्सार क्षेत्रको रजत जयन्ती चोकसम्मको सडकमा बिहानै देखि सवारी साधनहरु आवागमनमा रोक लगाएको छ ।

अत्यावश्यक तथा सवारी अनुमति पत्र बाहेकका सबै सवारी साधनहरु पूर्ण रुपमा ठप्प पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट यसअघि लिइएका सवारी सधान सञ्चालनको इजाजतपत्र (सवारी पास) बिहीबारदेखि खारेज पनि गरिएको छ भने अब उप्रान्त सवारी साधन अनुमति पत्रको आवश्यकता भए इ-पास अर्थात अनलाइनबाट अनुमतिपत्र (सवारी पास) लिएर मात्रै सवारी सधान चलाउनुपर्ने व्यावस्था मिलाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनुभयो ।

किराना पसलहरु समेत खुल्न सकेनन्

स्थानीय प्रशासनले लकडाउनमा कडाइ गरेसँगै किराना पसलहरु पनि खुल्न पाएका छैनन् । लकडाउनमा विहान ११ बजेदेखि ३ बजेसम्म किराना पसल खोल्ने अनुमति दिएपनि बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि ति किराना पसलहरु पनि खुलेका छैनन् ।

वीरगञ्जमा एकै दिन एकै परिवारमा त्यत्रो संख्यामा संक्रमण पुष्टि भएपछि वीरगञ्जबासीमा अहिले त्रास बढेको छ । अत्यावश्यक सामानहरुको लागि पनि पैदल बाहिर निस्कने सर्वसाधारणहरु बिहीबार घरबाट निस्केका छैनन् ।

संक्रमित परिवारसंग हेलमेल रहेका ८१ जनाको पहिचान

कोरोना संक्रमण पुष्टि भएका परिवारको हेलमेलमा रहेकाहरुको पीसीआर परीक्षणका लागि बिहीबारदेखि स्वाब संकलन गर्न थालिएको छ ।

ती परिवारको हेलमेलमा रहेका ८१ जनाको पहिचान भइसकेको र तिनीहरुको स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताउनुभयो ।

स्वाब संकलनका लागि अस्पतालबाट स्वास्थ्यकर्मीको टोली खटिएको छ, भने यस पश्चात दोश्रो चरणमा संक्रमितहरुको घर भएको टोलका शंकास्पद व्यक्तिको पनि स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने मेसु डा। उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV