२५ बैशाख २०७७, बिहीबार
  • अमर काफ्ले,

इनरुवा, २५ बैशाख । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यतिबेला भारतसंगको सीमा सिल गरिएको छ ।

सीमामा हुन सक्ने सम्भावित आउजाउलाई रोक्न सुरक्षाकर्मीको संख्या समेत थप्दै लगिएको छ । तर, ती सुरक्षाकर्मीकालागि सीमामा बसेर सुरक्षा दिन भने पक्कै सहज छैन् ।

एकैछिनमा लाग्ने चर्को घाम अनि मौसममा आएको परिवर्तन सँगै एक्कासि पर्ने पानीको अवस्थाबीच सशस्त्र प्रहरी अहोरात्र सीमा क्षेत्रमा खटिएको छ ।

सीमामा नेपाल प्रहरीको समेत उपस्थिति रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी निर्वाह गर्दै आएको छ ।

उनीहरुकालागि न घाम न पानी ! न हावाहुरी न हुण्डरी । मात्र छ केवल ड्यूटी ।

ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टुङगो छैन् । चर्को घाम र पानी समेतको प्रवाह नगरी नेपाल भारत सीमा क्षेत्रमा खटिरहेको छ सशस्त्र ।

स्रोत साधन अभावकाबीच जिम्मेबारी वहनमा रहेको सशस्त्र आज न्यूज २४ को टोली सीमामा पुग्दा हावाहुण्डरीकाबीच टेन्टको डोरी समाएर बसेको अवस्थामा भेटिएको थियो ।

उनीहरुको मुहारमा स्रोत साधन अभाव र पर्याप्त बन्दोवस्तीको अभाव स्पष्ट झल्किन्थ्यो । यद्धपि देशप्रतिको दायित्व बोध गरेका यी राष्ट्रसेवकमाथि कुनै अफसोच भने थिएन् ।

प्रतिकृया जनाउन भने नमानेका उनीहरु तोकिएको जिम्मेबारी बहनमा खटिन पाउनुनै आफुहरुको सौभाग्य भएको बताइरहेका थिए । अभावकाबीच ड्युटीमा खटिएको शसस्त्रलाई स्थानीय तहले सकेको सहयोग उपलब्ध गराउँदै आएका छन् ।

पारि एसएसबी र वारि सशस्त्र यतिबेला सीमामा निरन्तर निगरानीमा छन् । दुवै देशका सुरक्षाकर्मी आपसी समन्वयका साथ सीमामा पहरा दिइरहेका छन् ।

सुनसरीमा ६२ किलो मिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । खुला नकाका भएका कारण समेत सुनसरी संवेदनशील जिल्लाका रुपमा रहेको छ ।

भारतमा कोरोनाका बिरामीको संख्या बढ्दो क्रममा रहेकाले समेत नेपाल तर्फको नाकामा नेपाली सुरक्षाकर्मीको पहरा दिनप्रतिदिन कडा हुँदै गएको छ । सीमामा ९ वटा बीओपी रहेको सशस्त्रको १५ वटा अस्थायी बेस तयार गरिएको छ ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै सम्भावित आउजाउलाई ध्यानमा राखी बोर्डरमा ७९ वटा चेक पोइन्ट थपिएको छ । सीमा क्षेत्रमा ५ सय ६१ जनाको संख्यामा सशस्त्र प्रहरी परिचालित छन् । सीमामा सशस्त्रले पैदलका साथै मोटरसाइकल, गाडी र साइकल गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV