२४ बैशाख २०७७, बुधबार
  • भगतराम थारु,

नेपालगञ्ज, २४ बैशाख । गत शुक्रवार ६० बर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ भेटिपछि बाँकेको नेपालगञ्जको अवस्था बदलिएको छ ।

कोरोना भाइरस पोजिटिभ भेटिएको भोलिपल्ट एक्कासि १६ जनामा कोरोनाको संक्रमण देखियो । लगातार थपिदै गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेले निशेधाज्ञा जारी ग¥यो ।

नेपालगञ्जका नाका सवै सिल गरियो । पुन मंगलवार थप ७ जनामा कोरोना पोजेटिभ भेटिदा झनै प्रशासन कडा रुपमा उत्रियो ।

अहिलेसम्म नेपालगञ्जमा २३ जनामा संक्रमण पुष्टि भएको छ । हाल उनीहरुको खजुरा गाउँपालिकास्थित क्यान्सर अस्पतालमा बनाइएको आइशोलेसनमा उपचार भैरहेको छ ।

सुरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि सो व्यक्तिको घुलमिल आफन्त र आवतजावन गर्ने मस्जिद, मदरसाका व्यक्तिको परीक्षणका लागि स्वाब संकलन गरियो ।

९४ जनाको स्वाब संकलन गर्दा २३ जनामा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेसनमा राखिएर उपचार भैरहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भेरी अस्पतालमा प्रमुख डाक्टर प्रकाश थापाले जानकारी दिनु भएको छ ।

एउटै टोलका २३ जनालाई संक्रमण पुष्टि भएपछि नेपालगञ्जमा बाँके प्रशासनले निषेधाज्ञा जारी गरी लकडाउनलाई कडाइ गरेको छ । हरेक चोक चोकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ अवस्थामा रहेका छन् । बजार पूर्णरुपले बन्द रहेको छ ।

मानिसहरुको आवतजावत पूर्णरुपले ठप्प छ । लकडाउनको पालना गर्न प्रहरी प्रशासन तैनाथ अवस्थामा रहेका छन । यही अवस्थाबीच स्थानीय नागरिक खाद्यान्नका लागि बजार निस्कदा मंगलवार प्रहरी र स्थानीयवासीबीच झडप समेत भएको थियो ।

अति आवश्यक काम बाहेक बाहिर निस्कन नमिल्ने सूचना जारी गर्दा समेत स्थानीयवासी किनमेलका लागि बजार निस्कदा प्रहरीले लाठी चार्ज गर्दा नेपालगञ्जको त्रिवेणिमोडका एक जना स्थानीय घाइते भए ।

प्रहरीले अनावश्यक लाठी चार्ज ग¥यो भन्दै स्थानीयले आक्रोसमा उत्रिएका थिए । केहीबेर तनावग्रस्त रहेको नेपालगञ्ज पछि सामान्य अवस्थामा पुगेको थियो ।

जनताकै लागि सेवा दिन उत्रिएका प्रहरीमाथि स्थानीय जनता जाईलागेपछि प्रहरी झनै बढी तैनाथ पारियो र आखिरमा स्थानीयले प्रहरीसमक्ष माफी मागेका थिए ।

आक्रोशमा आएका स्थानीयवासीले प्रहरीको मोवाईल भ्यानमा ढुंगामुढा प्रहार गर्दा गाडीमा क्षति समेत भएको थियो । यस्तै नेपालगञ्जका ५ स्थानबाट मंगलवार ५६ जनाको स्वाव संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV