२४ बैशाख २०७७, बुधबार
  • रिदम सिंह

बझाङ, २४ वैशाख । धेरै दिनदेखि मौसममा आएको खराबीका कारण यहाँका किसानहरुलाइ गहुँबाली भित्र्याउन समस्या भएको छ । प्रायजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकहरुलाइ पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो ।

उब्जनीका हिसाबले राम्रो मानिने जयपृथ्वी नगरपालीकाको देवल, गोलाइ, पडेस, सुवेडा, खप्तड, थलारा, दुर्गाथली र केदास्युँ लगायतका जिउलाहरुमा अहिले पाकेको गहुँ वर्षाले बिग्रँदै गएको छ । लगातार वर्षा भइरहँदा किसानहरुलाइ गहुँ कसरी भित्र्याउने भने चिन्ता छ ।

जयपृथ्वी नगरपालिका वडा नं ११ भोपुरका कृषक माहादेव जोशीले भने, ‘एक हप्ता देखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफुहरुले पाकेको गहुँ काट्न पाएका छैनौँ । कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन र झार्न पाएका छैनन् । उनीहरु जस्तै जिल्लाका सबै किसानहरुको उस्तै समस्या हो, पाकेको गहुँ खेतमै कुहिएको छ ।’

जयपृथ्वी नगरपालिका- ३ का कृषक गजेन्द्र वलीले भने, ‘यसपाली गहुँ पसाउने समयमा लगातार वर्षा भएकाे हुँदा गहुँवालीमा रोग देखिएकाले उब्जनी पनि कम भएके छ ।’ उनीजस्तै जयपृथ्वी नगरपालिका कृषि प्राविधिक मनराज जोशीले यस वर्ष मौसम बदलीका कारण धेरै पानी परेको हुँदा गहुँमा पहेँलो सिन्दुरे , ढुसी रोग लागेकाे बताए । उनले भने, ‘यस वर्ष गहुँबालीमा उत्पादन कम हुने निश्चित छ ।’

जिल्लामा डब्लुके १२ सय ४ धौलागिरी, स्वर्गद्वारी र स्थानीय जातका गहुँ लगाउने प्रचलन रहेको छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिल बहादुर सिंहले भने, ‘सिंचाइ हुने ठाउँमा आकासे पानी बढी परेकाले गहुँमा सिन्दुरे रोग देखापरेको हाे ।’ तर पाखो खेतको गहुँमा भने यो समस्या नभएको पनि उनले बताए ।

जिल्लामा १० हजार ९ सय हेक्टरमा गहुँ खेती गर्ने गरेको पनि सिंहले जानकारी दिए । ४ हजार हेक्टरमा सिँचाइ हुने भए तापनि अन्य ठाउँमा आकासे पानीको भरमा खेती हुने ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV