२४ बैशाख २०७७, बुधबार
  • कृष्ण पाण्डे

बुटवल, २३ वैशाख । लकडाउनका कारण खुल्ला आवतजावत रोक्न सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु विभिन्न समस्यामा परेका छन् । तराईको प्रचण्ड गर्मी र बेला बेलामा आउने पानी, हावाहुरी लगायतका कारण उनीहरु थप समस्यामा परेका हुन् ।

खाने-बस्ने स्थान व्यवस्थित नहुनु र रातिमा सर्प, बिच्छीकाे जोखिम पनि उत्तिकै रहेको उनीहरुले बताएका छन् । सामान्य पलङ्ग र त्रिपालको भरमा बस्नुपरेको उनीहरुको गुनासो छ । मुलुकमा तीन तहको सरकार रहेको र अन्य क्षेत्रमा विशेष व्यवस्था मिलाइएको भए पनि सीमा क्षेत्रका रक्षकहरु सामान्य एक थान मास्क र सेनिटाइजरको भरमा खटिन बाध्य छन् ।

हाल बन्द गरिएकाे नेपाल-भारत सीमा अन्तरगत रुपन्देही जिल्लाको नाकाको सुरक्षामा दिउँसोमा आई कन्टयाक र रातिमा लाईट कन्टयाकका माध्यमबाट सुरक्षा प्रदान गरिएको छ । रुपन्देही जिल्लामा करिब ६० किलोमिटर क्षेत्रफल भारतसँग जोडिएको सिमाना रहेको छ । जिल्लाको पूर्वमा तेरिया नदी र पश्चिममा कोठी नदीबीचको भाग नेपाल-भारत सीमासंग जोडिएको क्षेत्र पर्दछ ।

कोरोनाको महामारी हुनुपुर्व जिल्लामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देही मातहतमा ५ वटा स्थायी बेसक्याम्प रहेकोमा हाल २० वटा बेसक्याम्प थपगरिएको र कुल बिस्तारित ८७ स्थानवाट चौबीसै घण्टा सुरक्षा प्रदान गरिएको सशस्त्र प्रहरी वल नेपाल नम्बर २७ गण रुपन्देहीले जनाएको छ ।

जिल्लाको सीमा सुरक्षामा १ हजार भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाईएको छ । सीमा क्षेत्रबाट आवतजावतमा पुर्ण रुपमा कडाइ गरिएको र दिउँसोमा एक स्थानमा बसेको प्रहरीले अर्को स्थानमा बसेको प्रहरीलाई देखिनेगरी करिब ३ सय मिटरको फरक दुरीमा राखेर सुरक्षा प्रदान गरिएको छ । रातिको समयमा भने गस्ती पेटोलिङ र लाईटबाट देखिने गरी प्रहरी परिचालन गरिएको छ ।

केही ठाउँमा स्थानीय जनप्रतिनिधीले नै आफै मानिसहरुलाई सीमा क्षेत्रबाट नेपाल भित्र्याएको भनी आलोचना भएको पनि पाइएको छ । यसप्रकारका बेथितिहरु रोक्न बेलाबेलामा अनुगमन गर्न आवश्यक रहेको स्थानिय बुद्धिजिवीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV