२४ बैशाख २०७७, बुधबार
  • कृष्ण खनाल

नेपालगञ्ज, २४ वैशाख । कोरोना संक्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब लिइएको छ ।
खजुरास्थित आइसोलेसन अस्पतालमा राखिएका संक्रमितले भने अनुसार उनीहरुको सम्पर्कमा रहेका ५६ जनाको स्वाब लिइएको हो । स्वास्थ्यकर्मीले मंगलबार महेन्द्र पार्क अगाडि राति अबेरसम्म बसेर ५६ जनाको स्वाब लिएका हुन् ।

जोलाहनपुरुवा भन्ने एउटै टोलबाट २२ जना (एकजना अर्को टोलका) संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा रहेका आसपासका टोलका मानिसको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जोलाहनपुरुवा आसपासका चार वटा टोलबाट स्वाव लिइएको बताउनुभयो ।

७१ जनाको स्वाव लिने तयारीका साथ महेन्द्र पार्क अगाडि पुगेको स्वास्थ्यकर्मीको टोलीले मंगलबार ५६ जनाको मात्र स्वाब लिन भ्याएको थियो । राती अबेर भएपछि स–साना बालबालिका घर गएका थिए । बाँकी १५ जनाको बुधबार स्वाब लिइने श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार राति संकलन गरिएको स्वाबलाई बुधबार परीक्षण गरिनेछ । बुधबार नै १५ जनासहित अरुको पनि स्वाब लिइने तयारी भएको छ ।

वैशाख १९ गते यहाँका एक ६० वर्षीय एक जनामा काेराेना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा २२ जना संक्रमित फेला परेका थिए । अहिले त्यही २३ जनाको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गर्दै स्वाव लिने काम भइरहेको छ ।

LIVE TV