२३ बैशाख २०७७, मंगलवार
  • कृष्ण पाण्डे,

बुटवल, २३ बैशाख । रुपन्देहीको देवदहमा गाई र बाच्छी काटेर गाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीका अनुसार देवदह नगरपालिका वडा नं. १० भलुहीमा काटेर गाडिएको अवस्थामा गाई र बाच्छी फेला पारिएको हो ।

प्रहरी निरीक्षक चुंदालीले भलुहीस्थित रोहिणी सामुदायिक वन भित्रको जंगलमा गाडिएको अवस्थामा गाई र बाच्छी फेला पारिएको जानकारी दिनुभयो ।

भलुहीका ज्ञानबहादुर केसीले सोही स्थानका रामप्रसाद पराजुलीलाई पाल्न दिएको गाई र बाच्छी काटेर खाडलमा पुरेको अवस्थामा मंगलबार फेला परेको चुंदालीले बताउनु भयो ।

केसीले पाल्न दिएको गाईको माउ र बाच्छी पराजुलीको घरबाटै हराएको जानकारी पाएपछि खोजी गर्दै जांँदा जंगलमा दुईवटा खाडल खनि पुरेको अवस्थामा फेला परेका हुन् ।

एउटा खाडलमा गाईको माउ र अर्को खाडलमा बाच्छीको टाउको, खुट्टा र भुंँडी फेला परेको हो । गाई र बाच्छीको टाउको र खुट्टा मात्र फेला परेपछि गाई काटेर खाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि पनि सो क्षेत्रमा गाई काटेर खाने गरेको समाचारहरु सार्वजनिक हुने गरेका थिए ।

प्रहरी निरीक्षक चुंदालीले गाई कसले काटेको भन्ने बारे घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । नेपालको राष्ट्रिय जनावर गाईलाई लक्ष्मी र गौमाताको रुपमा पूजा गरिने भएकोले गाई मार्नुलाई अपराधको रुपमा मान्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV