२३ बैशाख २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, २३ बैशाख । सशस्त्र प्रहरीले विराटनगरको बुधनगर स्थित एकीकृत जाँच चौकीबाट करिब १ करोड १० लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालमा सामान लिन प्रवेश गरेको डब्ल्युबी ७३ ई ७६३५ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा चालकको छेउमा लुकाइएको अवस्थामा भारतीय रुपैयाँ पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गणका सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा चालक भारत सिलिगुढी गंगानगरका रविकुमार शर्मा र सहचालक भारत मजहपुर रोउतनियाका पप्पु कुमार रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि विराटनगर भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताउनु भयो ।

भारतबाट नेपाल प्रवेश गर्ने क्रममा स्वास्थ्य चेकजाँच गर्ने विषयमा विवाद हुँदा ट्रकको चेकजाँच गर्दा बोरा भित्र लुकाइएको कार्टुनमा भारतीय रुपैयाँ भेटिएको थियो । सो रकम हुण्डी कारोबारीको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV