२३ बैशाख २०७७, मंगलवार
  • अभिमन्यू लामिछाने,

उदयपुर, २३ बैशाख । कोरोना भाइरसको संक्रमणसंगै उदयपुरमा फौजी किराले किसानको मकैबाली नष्ट गर्न थाले पछि किसानहरु समस्यामा परेका छन् ।

जिल्लाको उदयपुरगढी गाउँपालिकाका विभिन्न वडाहरुमा फौजी किराले किसानले लगाएको मकै नष्ट गर्न थालेपछि यसलाई नियन्त्रण गर्न औषधि वितरण गरिएको छ ।

सरोकारवाला निकायसंग बाल विकास समाज नेपाल र सेभ द चिल्ड्रेनले समन्वय गरी नियन्त्रणको लागि औषधि वितरण गरेको छ । ७६ पाकेट औषधि वडा नं.६ र ८ का वडाध्यक्ष कृष्णबहादुर खत्री टंकबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

पालिकाको दनुवारवेसी, नेपालटार, कुसुमबोट, बोहोरीबोट, खत्रीटारलगायत विभिन्न स्थानमा यो फौजी किराले मकैमा आक्रमण गरेको स्थानीयहरुले बताएका छन् ।

१५० कठ्ठा जमिनमा लगाइएको मकैबालीमा छिट्न पुग्ने गरी किसानलाई औषधि वितरण गरिएको छ । फौजी किराबाट २० हेक्टर जमिनमा लगाइएको मकै बाली आक्रमण गरेको छ, भने अन्य ठाउँमा पनि देखिन थालेको छ ।

फौजी किरा नियन्त्रण र औषधि व्यवस्थापन गर्नको लागि वडा कार्यालय, जिल्ला कृषि ज्ञान केन्द्र र उदयपुरगढी गाउँपालिकाको कृषि शाखाले पनि पहल गरिरहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बाल विकास समाज नेपाल र सेभ द चिल्ड्रेनले औषधि व्यवस्थापन गर्नको साथै औषधि छिट्नको लागि २ जनाको जनशक्ति परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV