२३ बैशाख २०७७, मंगलवार
  • रिदम सिंह

बझाङ, २३ बैशाख । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० ले यहाँका स्थानीय बासिन्दाहरुलाई घरघरमा नै पुगेर स्वास्थ्य उपचार साथै औषधि वितरण गरेको छ । लकडाउनको समयमा विरामी हुँदा समेत बाहीर निश्कन नपाउने भएपछि जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वासिन्दाहलाइ समस्या भएको महसुस गरी यस्तो सेवा दिन थालेको हो ।

वडा अध्यक्ष दलबहादुर विष्टको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोली घर-आँगनमा पुगेको थियो । टोलीले वडाभित्र रहेका दम्दुर, खैरा, चैनपुर, कुलालीगाँउ, कुचा, मादुकात्ने लगायतका गाँउबस्तीमा स्वास्थ्य उपचारसहित गााउँलेहरुको अवस्था बुझ्ने काम विस्तार गरेको हो । टोलीमा जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी, महिला स्यंवसेविका सहित अन्य स्वयमसेवकहरु रहेका थिए ।

गाउँमा टोलीले उपचारका साथै कोरोना रोगथामका लागि सचेतना समेत जगाएको थियो । ‘पाँडेशैन घर भएका जंगबहादुर बुढा पखाला लागेर तीन दिनदेखि घरबाट आउन नसकेका रहेछन्,’ चैनपुर स्वास्थ्य चौकीका प्रमुख ललीत कुमार खत्रीले भने, ‘उनको घरमै गएर उपचार गरिएको हो ।’

बुढाजस्तै पाँडेशैनका अन्य गम्भीर तिन जना विरामी मानिसलाइ पनि सलाईन पानी चढाएर उपचार गरिएकाे खत्रीले बताए ।

स्वास्थ्यकर्मीहरुको टोलीले गाँउमा रहेका बालबालिका, गर्भवती महिला, दमका रोगीहरूको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गर्नुका साथै कोरोनाबाट सचेत हुन विभिन्न उपाय तथा परामर्श समेत दिएका थिए ।

नेपाल सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि वडा-वडामा एकीकृत समुह परिचालन गर्ने परिपत्रअनुसार आफुहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित गाँउबस्तीमा पुगिरहेको वडा अध्यक्ष दलबहादुर विष्टले बताए । उनले भने, ‘हाम्रो टोलीले गाँउलेहरुको गुनासो बुझी-विस्तार गर्नुका साथै राहत पाए/नपाएको तथा जनताका समस्याहरु पहिचान गरी सहयोग गर्दै आएको छाैँ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV